फोनिज सातौं महाधिवेशनको उद्घाटनसत्रका प्रमुख अतिथि र अन्य अतिथिहरु ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सम्पन्न सातौं संघीय महाधिवेशनले १७ बुँदे सौराहा घोषणा पत्र जारी गरेको छ ।
चितवनको सौराहामा चैत ६, ७ र ८ गते सम्पन्न सातौं महाधिवेशनले आदिवासी जनजाति समुदायका राजनीतिक र सांस्कृतिक मुद्दासहित श्रमजीवि पत्रकारहरुको सवालमा घोषणा–पत्र जारी गर्दै राज्य पक्ष र तीनै तहका सरकारहरुको ध्यानाकर्षण गराएको हो ।
जारी घोषणा–पत्रमा आदिवासी जनजाति पत्रकारहरुको संख्यात्मक, संगठनात्मक र गुणात्मक विकास गर्ने प्रण गर्दै श्रमजीवि पत्रकारहरुको हक, हित, सुरक्षा र सीप तथा क्षमता अभिवृद्धिको निम्ति राज्यसँग माग गरिएको छ ।
नामाकरण हुन बाँकी प्रदेश नम्बर १ को नाम किरात–लिम्बुवान प्रदेश राख्न माग गर्दै सो घोषणा–पत्रमा मातृभाषाका सञ्चार माध्यमहरुको सवलीकरण, साना–ठूला सबै खाले मिडियालाई समानुपातिक आधारमा राज्यबाट विज्ञापनको उपलब्धताको माग गरिएको छ ।
त्यस्तै घोषणा–पत्रमा आदिवासी जनजाति समुदायको संस्कार, संस्कृति र परम्परासँग प्रतिकूल नेपालको ऐन कानुन संशोधनको माग गर्दै उनीहरुको पहिचान, परम्परागत आर्थिक प्रणाली र प्रथाजनीत कानुनको संरक्षण, प्रवद्र्धनका लागि जोड दिइएको छ ।
फोनिज सातौं संघीय महाधिवेशनले घोषणा–पत्रमार्फत नेपाल पत्रकार महासंघमा आदिवासी जनजाति पत्रकारहरुको प्रतिनिधित्व सुनिश्चित गर्न महासंघको निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक बनाउन माग गर्दै तथ्य र प्रमाणका आधारमा महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई घोषणा गर्न विशेष माग गरेको छ ।
घोषणा–पत्रमा चितवन जिल्लाको भूमिपुत्र थारु समुदायको पहिचान, संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकासको निम्ति माग गर्दै धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्त्व बोकेका उपरदाङगढी, सिराई चुली, इच्छा कामना, समेश्वरगढी, परेवाकोट दरबार, गणेशधाम, छिता माई मन्दिरलगायत सम्पदा र स्थलहरुको संरक्षण, प्रवद्र्धन र विकास साथै सुन्दर पर्यटकीय नगरी सौराहाको समग्र विकासका लागि जोड दिइएको छ ।
कोभिडका कारण बन्द भएका सञ्चार संस्थाहरुको पुनः सञ्चालनको व्यवस्था गर्न, संकटमा परेका सञ्चार संस्थाहरुलाई आर्थिक सहायता प्रदान गर्न र कोभिडका कारण पेशा र जिम्मेवारीबाट हटाइएका श्रमजिवि पत्रकारहरुलाई पुनर्वहाली गर्न माग गरिएको छ ।
निर्वमान अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा चितवनको सौराहास्थित थारु कल्चरल हाउसको सभाहलमा सम्पन्न फोनिज सातौं संघीय महाधिवेशनमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा (जुगल), समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भू श्रेष्ठ, प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल, फोनिज सल्लाहकार संयोजक खिम घलेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
घोषणा–पत्र तयारीका लागि फोनिज संघीय सचिव कमन देवानको संयोजकत्वमा सह–कोषाध्यक्ष अञ्जना शिल्पकार र फोनिज चितवन शाखाका अध्यक्ष रमेश रानामगर सदस्य रहेको तीन सदस्यीय समिति गठन गरिएको थियो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको सातौं संघीय महाधिवेशन २०७८ (चैत्र ६–७ चितवन, सौराहां)बाट जारी सौराहा घोषणा–पत्र
१. आदिवासी जनजाति पत्रकारहरुको संख्यात्मक, संगठनात्मक र गुणात्मक वृद्धि गर्न र सीप तथा क्षमता अभिवृद्धि गर्न ठोस नीति बनाएर कार्यान्वयन गर्ने यो महाधिवेशन प्रण गर्दछ ।
२. सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक सबै सञ्चार माध्यमहरुमा लागू गराउन र श्रमजिवि पत्रकारहरुले सञ्चालन गरेका साना सञ्चार माध्यमहरुलाई सरकारको तर्फबाट विशेष आर्थिक सहुुलियत उपलब्ध गराउन यो महाधिवेशन संघ, प्रदेश र स्थानीय सरकारहरुसमक्ष माग गर्दछ ।
३. समाचार लेखेकै कारण पत्रकारहरुमाथि हुने गरेका कुटपिट, आक्रमण, धाकधम्की, मानसिक तनाव दिने जस्ता आपराधिक गतिविधिहरु अन्त्य गरी पत्रकारहरुको पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न यो महाधिवेशन तीनै तहका सरकारहरुसमक्ष जोडदार माग गर्दछ ।
४. मातृभाषामा प्रकाशन प्रसारण हुने सञ्चार माध्यमहरुको प्रवद्र्धन, आर्थिक सवलीकरण र दिगोपनाका निम्ति सहयोग गर्न यो महाधिवेशन तीनै तहका सरकारसँग माग गर्दछ । साथै प्रेस काउन्सील नेपालबाट गरिने वर्गीकरणमा मातृभाषी सञ्चार माध्यमहरुको लागि अलग्गै संपरीक्षणको व्यवस्था गर्न माग गर्दछ ।
५. राज्यबाट वितरण गरिने विज्ञापन समानुपातिक आधारमा साना तथा ठूला सञ्चार माध्यमहरुलाई उपलब्ध गराउने कानुनी व्यवस्थाको लागि यो महाधिवेशन जोडदार माग गर्दछ ।
६. आदिवासी जनजाति, लोपोन्मुख, अल्पसंख्यक, सीमान्तकृत, महिला, अपाङ्गता, दलित, मधेसी समुदायबाट पत्रकारितामा क्रियाशील पत्रकारहरुको सीप तथा क्षमता अभिवृद्धिको लागि तालिम र अध्ययन अवलोकन भ्रमणको व्यवस्था गर्न यो महाधिवेशन तीनै तहका सरकारसमक्ष जोडदार माग गर्दछ ।
७. नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सञ्चारसम्बद्ध संघसंस्थालाई वार्षिक रूपमा उपलब्ध गराउँदै आएको अनुदान रकम अन्य संघसंस्थाका तुलनामा फोनिजलाई थोरै मात्र उपलब्ध गराउने विभेदकारी परिपाटीको अन्त्य गरी समानता कायम गर्न यो महाधिवेशन माग गर्दछ ।
८. नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत पत्रकारहरुलाई प्रदान गर्दै आएको पुरस्कार तथा प्रोत्साहन समावेशीताका आधारमा प्रदान गर्न यो महाधिवेशन माग गर्दछ ।
९. नेपालको जातीय चित्रका आधारमा राज्यको संरचनामा समानुपातिक समावेशी प्रतिनिधित्वलाई कार्यान्वयन गर्दै नेपालको सञ्चार ऐन, नीति, नियमावली आदि सबैमा सोही अनुसार प्रतिनिधित्वको सुनिश्चित गर्न र समावेशी सञ्चार नीतिलाई व्यवहारिक रूपमा कार्यान्वयन गरी समाचार कक्षमा समावेशीता कायम गराउन यो महाधिवेशन जोडदार माग गर्दछ ।
१०. नेपालको संघीय संरचनाअन्तर्गत प्रदेशको नामाकरण हुन बाँकी रहेको प्रदेश नम्बर १ को नामाकरण पहिचान, सभ्यता र ऐतिहासिक पृष्ठभूमिका आधारमा ‘किरात–लिम्बुवान प्रदेश’ राख्न यो महाधिवेशन जोडदार माग गर्दछ ।
११. आदिवासी जनजाति समुदायको पहिचान, संस्कृति, मातृभाषा, प्रथाजनित कानून, परम्परागत अर्थ प्रणालीको संरक्षण, प्रवद्र्धन र विकासका लागि ठोस नीति निर्माण गरी कार्यान्वयन गर्न यो महाधिवेशन राज्यसमक्ष माग गर्दछ ।
१२. आदिवासी जनजाति समुदायको संस्कार, संस्कृति र परम्परासँग प्रतिकूल कानूनी प्रावधानहरु खारेज गर्न र नेपालको संविधानले व्यवस्था गरेको धर्म निरपेक्षताको मर्म अनुसार कानून परिमार्जन गर्न यो महाधिवेशन राज्यसमक्ष जोडदार माग गर्दछ ।
१३. नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको ऐतिहासिक तथ्य र प्रमाणले पुष्टि भएको हुँदा माहासंघको संस्थापक अध्यक्ष श्रेष्ठलाई घोषणा गर्न यो महाधिवेशन नेपाल पत्रकार महासंघसँग विशेष माग गर्दछ ।
१४. नेपाल पत्रकार महासंघमा आदिवासी जनजाति पत्रकारहरुको प्रतिनिधित्व सुनिश्चित गर्न महासंघको निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक बनाउन यो महाधिवेशन जोडदार माग गर्दछ ।
१५. चितवन जिल्लाका धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्त्व बोकेका उपरदाङगढी, सिराई चुली, इच्छा कामना, समेश्वरगढी, परेवाकोट दरबार, गणेशधाम, छिता माई मन्दिरलगायत सम्पदा र स्थलहरुको संरक्षण, प्रवद्र्धन र विकास साथै सुन्दर पर्यटकीय नगरी सौराहाको समग्र विकास, भूमिपुत्र थारू समुदायको पहिचान, संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकासको निम्ति यो महाधिवेशन तीनै तहको सरकारहरुलाई अनुरोध गर्दछ ।
१६. विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको प्रकोपका कारण ज्यान गुमाउन पुगेका फोनिजकर्मी सहयोद्धाहरुप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यो महाधिवेशन कोभिड संक्रमति भई मृत्युवरण गर्नुहुने दिवंगत आत्माहरुको चिर शान्तिको कामना गर्दछ । साथै कोभिडको कारण चरम आर्थिक संकटमा परि बन्द भएका सञ्चार माध्यमहरुको पुनः सञ्चालनको व्यवस्था गर्न, कोभिडका कारण संकटमा परेका सञ्चार संस्थाहरुलाई आर्थिक सहायता प्रदान गर्न, कोभिडका कारण पेशा र जिम्मेवारीबाट हटाइएका श्रमजिवि पत्रकारहरुलाई पुनर्वहाली गर्न राज्य र सरोकारवालाहरुलाई यो महाधिवेशन माग र आह्वान गर्दछ ।
१७. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सातौं संघीय महाधिवेशनका प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख माननीय अमिक शेरचनज्यू, विशेष अतिथिहरु नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, विभिन्न राजनीतिक दल निकट आस्था राख्ने पत्रकारजन्य संगठनका अध्यक्ष÷प्रतिनिधि, महाधिवेशनको स्थानीय आयोजक र व्यवस्थापक फोनिज चितवन शाखा, फोनिजका सल्लाहकारज्यूहरु, अध्यक्ष मण्डलका अध्यक्ष र सदस्यज्यूहरु, निर्वाचन समितिका प्रमुख र सदस्यज्यूहरु, महाधिवेशन सफल पार्न रचनात्मक भूमिका खेल्नु हुने सम्पूर्ण प्रतिनिधि, पर्यवेक्षक, अहोरात्र खट्नु हुने स्वयम् सेवकहरु, फोनिजका शुभेच्छुक, सहयोगदाता संघसंस्था र व्यक्ति महानुभावहरुमा यो महाधिवेशन हार्दिक आभार र धन्यवाद ज्ञापन गर्दछ ।