adv

स्थानीय तह निर्वाचन :

२२ बैशाख, दमक ।


स्थानीय तह निर्वाचनको मिति एक साता मात्रै टाढा रहेका बेला राजनीतिक दलहरुको चुनावी तामझाम र प्रचार शैली निर्वाचन आचार संहिताभित्र आउन सकेको छैन ।

निर्वाचन आचार संहिताले तोके भन्दा विपरित राजनीतिक दल र तिनका उम्मेद्वारहरुले अपनाइरहेको चुनावी प्रचार शैलीले आम मतदातालाई मात्रै दिग्दारी दिएको छैन, स्थानीय प्रशासन पनि रुष्ट बनेको छ ।

दैनिकजसो भइरहेका चुनावी प्रचारका कोलाहल, पार्टीका झण्डा, तुल, ब्यानर, पोष्टर, पर्चा, चुनाव चिह्नका झण्डा आदिको आकार र प्रकारदेखि प्रचारका लागि अपनाइएका शैलीसमेतले आम मतदातालाई हैरान बनाएमात्रै छैन, आजित पारिसकेको छ ।

दलको चुनावी प्रचार होस् वा स्वातन्त्र उम्मेद्वारले गरेका प्रचार हुन् बालबालिकाको दुरुपयोगदेखि ध्वनी प्रदुषण, राष्ट्रिय झण्डा दुरुपयोग र सार्वजनिक क्षेत्रहरुमा उम्मेद्वारका प्रचारात्मक तुल व्यानर, झण्डा प्रदर्शनी हटाउन प्रशासनलाई पनि हम्मे हम्मे पर्दै गएको छ ।

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा चुनावी प्रचारको अन्तिम दिन बैशाख २७ गते राप्रपा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सम्मिलत समूहले र एमाले एक्लैले दमकमै आमनेसामने शक्ति प्रदर्शनको तयारी थालेका छन् ।

एमालेले पशुहाटस्थित खुला ठाउँमा जनसभा आयोजना गरेको छ, जहाँ सम्बोधन गर्न अध्यक्ष ओली आफै आउँदैछन् ।

त्यस्तै सोही दिन एमालेलाई काउन्टर दिन राप्रपा–कांग्रेस–माओवादी समूहले पनि शक्ति प्रदर्शनसहितको सभाको तयारी गरिरहेको स्रोतले जनाएको छ ।

ठूला भनिएका राजनीतिक दलहरुले चुनावी घरदैलोका नाउँमा गर्दै आएका र्याली र सभा का कारण पनि निर्वाचनको माहोल तातिँदै गएको छ । सँगै आपसमा झडपका स्थितिहरु पनि सिर्जना हुने खतरा उत्तिकै छ ।

निर्वाचन आचार संहिता विपरित दलहरुका यस्ता गतिविधि नियन्त्रणका लागि जनस्तरबाट आवाज उठ्न थालेपछि जिल्ला प्रशासन कार्यलय झापाले कडा निर्देशन नै जारी गरेको छ ।

झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बुधबार जारी गरेको सूचनामा निर्वाचन आचार संहिता विपरितका गतिविधि नगर्न निर्देशन दिइएको छ ।

सूचनामा भनिएको छ –‘यदि कोही कसैबाट प्रचलित कानून एवम् निर्वाचन आचार संहिता विपरित गतिविधि भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।’

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु