adv

क्रिकेटरको पारिश्रमिक बढ्यो

११ जेठ, दमक ।


राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला दुवै तर्फका खेलाडीको पारिश्रमिक बृद्धि भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले अप्रिल १ देखि लागू हुने गरी राष्ट्रिय क्रिकेट टिमका पुरुष तथा महिला खेलाडीहरू, मैदान कर्मचारीहरू, मैदान कार्यालय सहयोगी र टियु मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक वृद्धि गरेको हो ।

क्यानका अनुसार राष्ट्रिय क्रिकेट टिमका (पुरुष) सेन्ट्रल कन्ट्रयाक्टमा रहने सम्पूर्ण खेलाडीहरूको मासिक पारिश्रमिक १० हजारले वृद्धि गरिएको छ ।

महिलातर्फ सी श्रेणीमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ५ हजार, बी र ए श्रेणीमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गरिएको क्यानले जनाएको हो ।

यसअघि पुरूषतर्फ ’ए’ श्रेणीमा रहेका क्रिकेटरले मासिक ५० हजार, ’बी’ श्रेणीका क्रिकेटरले मासिक ४० हजार र ’सी’ श्रेणीका क्रिकेटरले मासिक ३० हजार रुपैयाँ पाउँदै आएका थिए ।

महिलातर्फ ’ए’ श्रेणीमा रहेका क्रिकेटरको मासिक १५ हजार, ’बी’ श्रेणीका क्रिकेटरको मासिक १२ हजार र ’सी’ श्रेणीका क्रिकेटरको मासिक १० हजार रुपैयाँ तलब थियो ।

त्यसैगरी मैदान कर्मचारीहरूको मासिक पारिश्रमिक ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक ५ हजारले वृद्धि गरिएको छ भने टियु मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गरिएको क्यानले जानकारी दिएको हो ।

यसैबीच क्यानले असोज महिनामा सञ्चालन गर्ने नेपाल टी–२० लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

क्यानको मंगलबारको बोर्ड बैठकले विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी÷भैरहवा र फार वेस्टर्नलाई मात्रै प्रतियोगितामा सहभागी गराउने निर्णय गरेको हो ।

कर्णाली प्रदेशलाई प्रतिनिधित्व गर्ने बाहेकका ६ वटा प्रदेशलाई प्रतिनिधित्व गर्ने टीमबीच प्रतिस्पर्धा हुने छ ।

क्यानले नेपाल टी–२० बाहेकका अरू कुनै पनि लिगलाई राष्ट्रिय लिगको मान्यता नदिनेसमेत निर्णय गरेको हो ।

यसअघि काठमाडौंमा एभरेस्ट प्रिमियर लिग, पोखरामा पोखरा प्रिमियर लिग र धनगढीमा धनगढी प्रिमियर लिग सञ्चालन हुँदै आएका थिए । तीनै लिग क्यान निलम्बनको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट अनुमति लिएर सञ्चालन भएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु