११ जेठ, दमक ।
कृष्णप्रसाद भट्टराईको नाउँमा आमसञ्चार प्रतिष्ठान खोल्ने सरकारीको निर्णयको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले विरोध गरेको छ ।
सरकारले गलत तथ्यका आधारमा कृष्णप्रसाद भट्टराईको नाममा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालन गर्न लागेको भन्दै फोनिज संघीय समितिले त्यसको विरोध गरेको हो ।
मंगलबार सरकारको भावी नीति तथा कार्यक्रम प्रस्तुत भएकोमा ८५ नम्बर बुँदामा ‘आमसञ्चार क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकास गर्न कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याइनेछ’, भन्ने उल्लेख छ ।
फोनिजले बुधबार विज्ञप्ति जारी गरेको विज्ञप्तिमा भनिएको छ –‘नेपाल पत्रकार महासंघको संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठ हो भन्ने तथ्य प्रमाणित भइसकेको अवस्थामा उहाँको इतिहास र योगदानलाई अस्वीकार गर्दै गलत तथ्यलाई आधार मानेर नेपाल सरकारले उनकै नाममा प्रतिष्ठान सञ्चालन गर्ने नीति अवलम्बन गरेकोप्रति फोनिज आपत्ति प्रकट गर्दछ ।’
फोनिजले प्रमाणका आधारमा नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघको संस्थापक सभापति ‘नेपाल टुडे’का सम्पादक सत्यनारायण बहादुर श्रेष्ठ भएको र श्रेष्ठकै नेतृत्वमा वि.सं. २००८ सालमा नेपालमा पहिलो पटक ‘नेपाल पत्रकार संघ’ गठन भएको ठहर गर्दै उनी भन्दा चार वर्षपछि संघको सभापति बनेका भट्टराईको नाउँमा प्रतिष्ठान सञ्चालन गरिनु गलत भएको बताएको हो ।
प्रतिष्ठान सञ्चालन गर्दा नेपाल पत्रकार संघ (हाल महासंघ)का संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठको नाममा सञ्चालन गरिनुपर्ने फोनिजले स्पष्ट पार्दै सरकारको गलत निर्णय सच्याउन माग गरेको छ ।



