१५ जेठ, दमक ।

आइतबार विहान १०ः०७ बजेबाट सम्पर्कविहीन भएको तारा एयरको ९ एन–एईटी कलसाइनको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको आशंका गरिएको छ ।
स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिएका हुन् । तर, सम्पर्कविहीन जहाज खोजीमा जुटेको कुनै पनि जनशक्ति विमान दुर्घटना भएको भनिएको स्थानमा पुगिसकेका छैनन् ।
स्थानीयले दिएको जानकारीका आधारमा सेनाको टोली घटना भएको भनिएको स्थानतर्फ अघि बढेको सैन्य प्रवक्ता सिलवालको भनाइ छ । उनका अनुसार नेपाली सेनाको हवाइ फौज कोभाङ भन्ने स्थानमा छ ।
कोभाङदेखि स्थानीयले दुर्घटना भएको भनेको स्थानसम्म पुग्न कम्तीमा तीन घन्टा लाग्ने बताइएको छ ।
पोखराबाट १९ यात्रु र ३ चालक दलका सदस्यसहित जोमसोम जाँदै गरेको तारा एयरको विमान म्याग्दीको घोडेपानी क्षेत्रबाट विहान १०ः०७ पछि सम्पर्कविहीन भएको थियो ।

