२० जेठ, दमक । (एजेन्सीको सहयोगमा)

रूस–युक्रेन युद्धको आज १०० दिन पूरा भएको छ । युक्रेनमाथि रूसले गत फेब्रुअरी २४ मा तीन दिशाबाट हमला थालेको थियो ।
आक्रमणको सुरुवाती दिनहरुमा रूसले पूर्वी युक्रेनसँगै राजधानी किएभलाई लक्षित गरी लडाँइ केन्द्रित गरेको थियो । तर, युद्ध थालेको केही दिनमै युक्रेन कब्जा गर्ने रूसको योजना असफल भएपछि हाल रूसले पूर्वी युक्रेनमा आक्रमण केन्द्रित गरेको छ ।
बिबिसीलगायत अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाए अनुसार १०० दिनको युद्धमा दुवै मुलुकले हजारौं सैनिक गुमाएका छन् भने अधिक संख्यामा सैन्य सामग्री र हातहतियार खर्च भएका छन् ।
युद्धका कारण युक्रनेले हाल ५ अर्ब अमेरिकी डलर युक्रेनको बजेट घाटा व्यहोर्नु परेको बताइएको छ ।
विभिन्न अध्ययनअनुसार रूसी आक्रमणका कारण दशौं हजार युक्रेनी सर्वसाधारणले ज्यान गुमाएका छन् भने १ करोड २० लाख विस्थापित भएका संयुक्त राष्ट्रसंघले जनाएको छ ।
युक्रेनमा ६ खर्ब अमेरिकी डलर बराबरको संरचना र अर्थतन्त्रमा प्रत्यक्ष क्षति पुगिसकेको छ । करिब ६८ लाख युक्रेनीले युद्धकै कारण देश छोड्न बाध्य भएका बताइन्छ । यूएनएचआरसीको प्रतिवेदनअनुसार युक्रेनबाट विस्थापित मध्ये करिब ३६ लाख मानिस पोल्याण्ड पुगेका छन् ।
युक्रेनको जनसंख्या २०२१ मा ४ करोड ३ लाख थियो भने अहिले ३ करोड ७० लाखमा झरेको बताइएको छ ।
युक्रेनमाथि आक्रमण गरेयता मात्रै रूसविरुद्ध अमेरिका, बेलायत, स्वीटजरल्याण्ड, अष्ट्रेलिया, युरोपियन युनियन, बेल्जियम, जापानलगायत मुलुकले १० हजार भन्दा बढी प्रतिबन्ध लगाएको मिडिया रिपोर्टहरुमा उल्लेख छ । रूसलाई घेराबन्दी गर्न पश्चिमा मुलुकहरुले नाकाबन्दी कडा गर्दै लगेको बताइन्छ ।
अमेरिका, ले मात्रै रूसविरुद्ध १ हजार १ सय ४४ प्रतिबन्ध लगाएको रिपोर्टमा जनाएको छ । त्यस्तै ४ हजार ८ सयभन्दा बढी रुसी नागरिकलाई प्रतिबन्ध लगाइएको छ भने ५ सय ६२ संस्था र ४ सय ५८ कम्पनीमाथि प्रतिबन्ध कायम गरिएको छ ।
रूस–युक्रेन युद्धको असर पूर्वी युरोपमा त प्रत्यक्ष परेको छ नै । युरोप बाहिर विश्वका अन्य मुलुकहरुमा पनि युद्धका कारण विभिन्न संकट उत्पन्न हुँदैगएको छ ।
दुई देशबीच युद्ध रोक्ने विषयमा वार्ताका केही शुंखलाहरु चले पनि त्यसले ठोस रूप लिन सकेको देखिँदैन ।


