adv

फोटो पत्रकार पूर्णिमा श्रेष्ठले बनाइन् ८ हजार मिटर अल्ला हिमाल चढ्ने कीर्तिमानी

२० जेठ, दमक ।

शुक्रबार मकालु हिमालको सफल आरोहणपछि ट्वीटरमार्फत चुचुरोबाट भिडियो लाइभ गर्दै पूर्णिमा श्रेष्ठ ।

फोटो पत्रकार पूर्णिमा श्रेष्ठले नेपालका ८ हजार मिटर अग्लो ७ वटा हिमाल चढ्ने पहिलो नेपाली महिला आरोहीको कीर्तिमानी बनाएकी छन् ।
शुक्रबार बिहान ११ बजे विश्वको पाँचौ अग्लो हिमाल मकालु (८ हजार ४ सय ८५ मिटर)को सफल आरोहण गरेसँगै फोटो पत्रकार श्रेष्ठले नेपालका ८ मध्ये ७ वटा ८ हजार मिटर अग्ला हिमाल चढ्ने पहिलो नेपाली महिलाको कीर्तिमानी बनाएकी हुन् ।

२०७४ मा विश्वको आठौं अग्लो हिमाल मनास्लु (८ हजार १ सय ६३ मिटर) को सफल आरोहण गरेकी गोरखाकी पूर्णिमाले २०७५ मा विश्वकै अग्लो चुचुरो सगरमाथा (८ हजार ८ सय ४८.८६ मिटर) को सफल आरोहण मात्रै गरिनन् ।

लगत्तै उनले विश्वको १०औं अग्लो हिमाल अन्नपूर्ण (८ हजार ९१ मिटर) र सातौं अग्लो चुचुरो धौलागिरी (८ हजार १ सय ६७ मिटर) पनि चढिन् । अन्नपूर्ण र धौलागिरी चढ्ने पहिलो नेपाली महिलाको कीर्तिमानी पनि बनाउनसमेत उनी सफल भइन् ।

उनले जीवनको पहिलो सफल आरोहण स्मरण गर्दै भनेकी छन् –‘सात वटा हिमाल चढिसकेको खुसी भन्दा पनि मनास्लुको चुचुरोमा पुग्दाको क्षणले छुट्टै आनन्द दिन्छ । किनभने त्योबेला मलाई कसैले पत्याएका थिएनन् ।’

शुक्रबार मकालुको चुचुरामा उक्लिएपछि आफ्नो सफल आरोहणका लागि उनले आफ्ना मातापिता, आरोहण दलका गाइड र सहयोगी, प्रयोजन गर्ने संघसंस्था, गण्डकी प्रदेश र प्रदेश नम्बर १ सरकारलगायत सबैलाई धन्यवाद दिएकी छन् ।

उनले आफ्नो ट्वीटरबाट मकालु चुचुराको भिडियोसमेत सार्वजनिक गरेकी छन् ।

यसअघि गत जेठ २ गते बिहान ८ बजेको समयमा पूर्णिमाले विश्वको चौंथो अग्लो ल्होत्से हिमाल (८ जहार ५ सय १६ मिटर) उक्लिएकी थिइन् भने त्यसको ठीक ११ दिनअघि बैशाख २२ गते विश्वको तेस्रो अग्लो चुचुरो कञ्चनजंघा (८ जहार ५ सय ८६ मिटर)को सफल आरोहण गरेकी थिइन् ।

विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये नेपालमा ८ वटा छन् । ती ८ मध्ये चोयु भने तिब्बततर्फबाट चढ्नुपर्छ । भौगोलिक जटिलता र विविध कारणले नेपालबाट चोयु आरोहणको अनुमति खुलाइएको छैन ।

पूर्णिमाका लागि अब नेपालमा रहेका मध्ये आरोहण गर्न चोयु हिमाल मात्र बाँकी छ ।

‘नेपालबाट पनि चोयु खुलाउने कुरा भइरहेको छ । त्यो भयो भने यही वर्षमा चोयु पनि चढ्छु’, उनले निर्धक्कसँग भनेकी छन् ।

हिमाल आरोहण कार्य र पत्रकारितालाई सँगसँगै लैजाने सोच बनाएकी पूर्णिमा भोलिका दिनमा राम्रा सहयोग आएको अवस्थामा विदेशमा रहेका हिमाल पनि चढ्ने सोचमा छिन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु