२७ जेठ, दमक ।

हालसम्म बेनामे रहेको प्रदेश नम्बर १ को नामाकरणको विषयमा छलफल गर्न प्रतिपक्षी दल नेकपा एमालेले कार्यदल गठन गरेको छ ।
पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीको नेतृत्वमा एमालेले प्रदेश नामाकरण बारे छलफल गर्न कार्यदल गठन गरेको हो । कार्यदलमा एमालेका पूव प्रदेशमन्त्रीहरु जीवन घिमिरे, जगदिश कुसियात, उषाकला राई र प्रदेश सभा सदस्य अर्जुन राई सदस्य छन् ।
एमालेको बिहीबार बसेको संसदीय दलको बैठकले ‘प्रदेशको नामाकरण बारे आवश्यक छलफल गर्न कार्यदल गठन गरिएको कार्यदल संयोजक कार्कीले जानकारी दिएका छन् ।
कार्यदल गठन बारे जानकारी दिँदै उनले भने –‘सबै पार्टीहरुसँग छलफल गरौं, सहमतिका साथ एउटा नाममा पुग्न सक्छौं भने सहमति गरौं, सहमति नभएको खण्डमा विधि प्रक्रियाका ढंगले कसरी जाने भनेर छलफल गर्न कार्यदल बनाइएको हो ।’
कार्कीले ५ वर्षे कार्यकालभित्र सबै दलका बीचमा कुनै पनि हालतमा प्रदेशको नाम राख्नुपर्छ भनेर छलफल चलेको भए तापनि निचोडमा पुग्न नसकिएको स्वीकारे । उनले नामाकरणको विषय सबै पार्टी र सबै सांसदको जिम्माको कुरा भएको जिकिर गरे ।
यसअघि प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि प्रदेशको नामाकरणको विषय टुंग्याउन एमालेकै नेतृत्वमा संयन्त्र निर्माणको प्रस्ताव गरेका थिए । मुख्यमन्त्री राईले भनेका थिए –‘एमाले संसदीय दलका नेता तथा एमालेकै संसदीय दलका सिनियर नेताको नेतृत्वमा सर्वदलीय संयन्त्र बनाऔं, त्यसले सहमतिमा प्रदेशसभामा नामको प्रस्ताव गरोस् ।’
यसरी प्रयास गर्दा पनि विषय टुङ्गो नलागे सरकारले प्रयास गर्ने र बजेट अघिवेशनपछि नामाकरणको विषय संसदमा ल्याउने उनको भनाइ थियो । मुख्यमन्त्री राईले अन्य उपाय नलागे नामाकरणको विषय प्रक्रियामा लैजाने बताएका थिए ।
कार्यदलको बैठक बसेर सबै दलहरुसँग छलफल गर्ने र नामको विषय टुंगोमा पुर्याउने कोसिस गरिने पूर्वमन्त्री कार्कीको भनाइ छ ।
प्रदेश नम्बर १ प्रदेशसभाको कार्यकाल सकिन अब केही महिनामात्रै बाँकी छ । ५ वर्षमा साढे ३ वर्ष सरकार सञ्चालन गरेको एमालेले नामाकरणको विषय ठोस ढंगले अगाडि बढाउन सकेको थिएन ।
प्रदेश नम्बर १ को नामाकरण बारे विभिन्न दलहरुले अलग अलग नामाकरणको प्रस्ताव ल्याउने गरेका छन् । जसमध्ये कोशी, सगरमाथा, किरात, किरात–लिम्बुवान, किरात–लिम्बुवान–शेर्पालुङ–मधेस प्रदेश, विराट प्रदेश जस्ता नाम चर्चामा छन् ।

