३ असार, दमक ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित कागजपत्र माग गरेको छ ।
शुक्रबार बिहान समितिले परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मालगायतसँग एसपीपीबारे जानकारी लिएको थियो ।
समितिले बिहानको छलफलपछि एसपीपीसँग सम्बन्धित सबै कागजपत्र उपलब्ध गराउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिएकी छन् ।
सभापति खरेलले परराष्ट्र नीति विपरीत गएर कुनै पनि सैन्य एवम् सामरिक महत्वका विषयमा नेपालले सहभागिता जनाउन नहुने भनी सरकारलाई सचेत गराइएको बताइन् ।
समितिले अमेरिका भ्रमण र एसपीपीका विषयमा उठेका प्रश्नहरुको जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत आउँदो आइतबार समितिको बैठकमा बोलाएको छ ।