५ असार, दमक ।

असार ९ गतेदेखि मधेस प्रदेशसहित देशैभरका २७ जिल्लाका ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप दिइने भएकोे छ ।
खोप कार्यक्रमअन्तर्गत पहिलो चरणमा मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्सा जिल्ला समेटिने मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले जानकारी दिए ।
मधेस प्रदेशमा ५ देखि ११ वर्ष उमेर समूहका ८ लाख २४ हजार ७ सय १६ जनसंख्या छन् । तर पहिलो चरणमा प्रदेशका ५ जिल्लाका लक्षित ५ लाख १६ हजार २ सय ३६ बालबालिकालाई मात्रै खोप उपलब्ध गराइने निर्देशनालयले जनाएको छ ।
लक्षित समूहका बालबालिकालाई फाइजर पेडियाट्रिक नामक खोप दुई मात्रामा दिइने छ । पहिलो खोप असार ९ देखि १५ गतेसम्म र दोश्रो मात्रा २१ दिनपछि साउन २ गतेदेखि ८ गतेसम्म दिइने निर्देशक झाको भनाइ छ ।

