सञ्चार क्षेत्रको संस्थागत विकास गर्छौं : प्रमुख थापा
६ असार, दमक ।

दमक नगरपालिकाले सञ्चार क्षेत्रको संस्थागत विकासका लागि नचुक्ने दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले प्रतिवद्धता व्यक्त गरेका छन् ।
सोमबार दमक नगरपालिकामा आयोजित आगामी आर्थिक वर्षको बजेत तथा कार्यक्रम तर्जुमा बारे सुझाव लिन आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा प्रमुख थापाले सो कुरा बताएका हुन् ।
अन्तरक्रियामा बोल्दै थापाले भने –‘पत्रकारहरको व्यवसायिक हकहित र मर्यादाका बारेमा हामी सचेत छौं ।’
पत्रकारहरुबाट प्राप्त सुझाव सकारात्मक मात्रै नभएर आत्मसाथ गर्न लायक रहेको भन्दै प्रमुख थापाले आर्थिक अनुशासन कायम गर्दै र गराउँदै दमकलाई नमूना नगरका रूपमा विकास गराउने आफ्नो लक्ष्य रहेको बताए ।
अन्तक्रियामा बोल्दै दमक नगरकी उपप्रमुख रेगिना भट्टराई (प्रसाई)ले सञ्चार क्षेत्रलगायत दमकको समग्र चुनौती, अवसर र आवश्यकतासँग केन्द्रित रहेर छलफल आयोजना गरिएको जानकारी दिइन् ।
बजेट तथा कार्यक्रम तर्जुमा गर्दा सञ्चार क्षेत्र, राजनीतिक दल, बुद्धिजिबी, संघसंस्थाका प्रतिनिधिलगायत सबैको सुझाव लिएर काम गर्ने भन्दै उपप्रमुख भट्टराईले पत्रकार मञ्चको भवन निर्माणका लागि भूमि आयोगमार्फत उपयुक्त जग्गको व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रमका बोल्दै दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईले नगरपालिकाबाट राष्ट्रियस्तरमा प्रकाशित गर्नुपर्ने विज्ञापनका सम्बन्धमा टेण्डर प्रक्रियामार्फत पारदर्शी ढङ्गले काम गरिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमबारे प्रकाश पार्दै दमक वडा नम्बर ७ का वडा अध्यक्ष एवम् बजेट तथा कार्यक्रम तर्जुमा समितिका सदस्य भीम पौडेलले दमकको विकास निर्माण, सामाजिक गतिविधि, आर्थिक विकासका लागि सञ्चारकर्मी, राजनीतिक दल, उद्यमी व्यवसायी, वौद्धिक व्यक्तित्वहरु, पूर्व नगर प्रमुख–उपप्रमुखहरुसँग सुझाव माग गर्न कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा अग्रज पत्रकार गञ्जबहादुर दाहाल, पत्रकार मञ्च दमकका पूर्व अध्यक्षहरु कृष्ण कार्की, गोपाल झापाली, प्रेस चौतारीका झापा जिल्ला अध्यक्ष मनकुमार गदाल, पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवान, प्रेस युनियन झापाका उपाध्यक्ष गिरीराज भट्टराई, संघीय पत्रकार मञ्चका अध्यक्ष दिलकुमार लावतीलगायतले दमकको सञ्चार क्षेत्रको विकास, पत्रकार मञ्च दमकको लागि जग्गा व्यवस्थापन र मिडिया सेन्टरसहितको कार्यालय भवन निर्माण, पत्रकारहरको सीप तथा क्षमता अभिवृद्धि, लेखनावृत्ति, लोककल्याणकारी विज्ञापन वापतको रकममा वृद्धि गरिनुपर्ने लगायत माग राखेका थिए ।
मञ्चको तर्फबाट अध्यक्ष देवानले लिखित प्रस्तावना पेश गरेका थिए भने चौतारीका अध्यक्ष गदालले पनि संगठनको तर्फबाट लिखित सुझाव पेश गरेका थिए ।

साथै सुझाव दिने क्रममा पत्रकार संघ संगठनका अगुवाहरुले बजेटले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरको विकास, स्थानीय सांस्कृतिक, भाषिक सम्पदाहरुको प्रवद्र्धन र विकास, दोहोरो कर अन्त्यलगायत विषयमा ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रम बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक एवम् दमक नगर उपप्रमुख भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
दमक नगरपालिकाले सर्वपक्षीय छलफलबाट सुझाव संकलन गरी आउँदो असार १० गते दमक नगर सभाबाट बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

