८ असार, दमक । (एजेन्सीको सहयोगमा)
अफगानिस्तानमा आज बुधबार गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ९ सय २० जनाको ज्यान गएको खबर छ ।
घाइतेहरुका बारे यकिन थाहा नभए पनि सयौंका संख्यामा घाइतेहरु रहेको तालिवान सरकारलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार संस्था बिबिसीले जनाएको छ ।
‘अफगानिस्तानको पाक्तिका प्रान्तबाट प्राप्त तस्बिरहरूमा पहिरो गएको र कच्ची घरहरू भत्किएको देखिन्छ’, बिबिसीले लेखेको छ ।
६.१ म्याग्निट्यूडको भूकम्प ५१ किलोमिटर भित्र गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ ।
केन्द्रबिन्दुभन्दा ५ सय किलोमिटर टाढा भारत र पाकिस्तानसम्म भूकम्पको तरङ्ग पुगेको बताइएको छ ।
भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको छ ।
दुर्गम स्थानहरूमा घाइतेहरुको उद्दारका लागि हेलिकप्टर प्रयोग गरिएको तालिबान नेता हिबतुल्लाह अखुन्जादाले जानकारी दिएका छन् ।
भूकम्पका कारण सयौँ घरहरू भत्किएको र मृतकको संख्या बढ्न सक्ने नेता अखुन्जादाले भनेका छन् ।
विपद् व्यवस्थापन हेर्ने उनका सहायक मन्त्री शरफुद्दिन मुस्लिमले प्रेस सम्मेलन गरेर कम्तीमा ९ सय २० जनाको मृत्यु भएको र थप ६०० जना घाइते भएको बताए ।
मध्यरातपछि भूकम्प आएको बेला धेरै मानिसहरू सुतिरहेका थिए ।
‘भूकम्पका कारण हाम्रा सयौं नागरिकको ज्यान जानुका साथै दर्जनौं घरहरू ध्वस्त भएका छन्’, सरकारका प्रवक्ता बिलाल करिमीले ट्वीटरमा लेखेका छन् ।