adv

च्याब्रुङ नाचमा गैर लिम्बू युवाको चासो

कमन देवान र सागर सरगम चेम्जोङ
१२ असार, धरान, दमक ।

पाँचथरको फिदिममा २०७४ फागुन ८ गते आयोजित के लाङ महोत्सवका सहभागी । तस्वीर : कमन देवान ।

च्याब्रुङ नेपालको पूर्वी पहाड (लिम्बुवान)मा वसोवास गर्ने लिम्बू र याक्खा समुदायका मानिसहरूको परम्परागत लोक बाजा हो । यसलाई लिम्बू भाषामा ‘के’ र याक्खा भाषामा ‘केइ’ भनिन्छ भने च्याब्रुङ नाचलाई लिम्बूले ‘के लाङ्’ भन्छन् भने याक्खाले ‘केइ लाक्मा’ भन्छन् । लिम्बू भाषामा ‘के’ भन्नाले च्याब्रुङ बाजा र ‘लाङ्’ भन्नाले खुट्टा भन्ने अर्थ लाग्छ । च्याब्रुङ लयात्मक पालाम् गायनसँगै खुट्टाको चाल मिलाएर नाचिने सामूहिक नृत्य भएकाले यसलाई ‘के लाङ्’ भनिएको हो । याक्खा भाषामा पनि ‘केइ लाक्मा’को अर्थ च्याब्रुङ बजाएर नाच्नु भन्ने अर्थ लाग्छ ।
पहिले पहिले गाउँघरमा सबै जसो युवा र बुढापाकाका लागि च्याब्रुङ नाच्नु सामान्य दिनाचार्य जस्तै थियो । उनीहरु कुनै उत्सव वा रमाइलो गर्नु परेमा घरघरबाट च्याब्रुङ रन्काउँदै भेला भैहाल्थे । तर, समयक्रमसँगै च्याब्रुङ बाजा बनाउनेको संख्या घट्दै गयो, बजाउने र नाच्नेको संख्या पनि त्यस्तै ।

तर यतिबेला भने सांस्कृतिक चेतनाको विकाससँगै लिम्बू समुदायका विभिन्न तप्का आफ्नो मौलिक र परम्परागत बाजा र नाच के लाङ् अर्थात च्याब्रुङ नाचको जगेर्नामा जुट्न थालेका छन् । च्याब्रुङ नाच लिम्बू समुदायका युवा युवतीका लागि मात्रै होइन, गैर लिम्बू समुदायका लागि पनि चासो र चिन्ताको विषय बनेको छ ।

सेचिया कुलुङ (वर्ष १७) भर्खरै कक्षा १२ को परीक्षा दिएर बसेकी रहेछिन् । खाली समय सदुपयोग गर्दै उनले १० दिने च्याब्रुङ नाचको तालिम लिइन् । अहिले उनलाई सामान्यतः च्याब्रुङका विभिन्न तालमा नाच्न आउँछ । धरानस्थित चुम्लुङ हिममा लिम्बू विद्यार्थी मञ्च सुनसरीले जेठ २८ देखि असार ५ गतेसम्म आयोजना गरेको च्याब्रुङ नाच प्रशिक्षणमा सहभागी सोचिया राई जातिलाई प्रतिनिधित्व गर्ने कुलुङ भाषी राई हुन् । सानै उमेरदेखि च्याब्रुङ नाच्न मन पर्ने भएकाले पनि सोचियालाई यो नाच सिक्ने हुट्हुटीले तानेर चुम्लुङ हिमसम्म पुर्यायो र अरु प्रीशक्षार्थीसँगै खुलेर नाच सिक्ने अवसर जुरायो ।

आफ्नो पहाड घर लिम्बू बाहुल्य क्षेत्र तेह्रथुम रहेकाले पनि त्यहाँका छिमेकी लिम्बू समुदायसँगको सांस्कृतिक अन्तरघुलनको लागि आफूले च्याब्रुङ सिकेको सुचिता बताउँछिन् । उनी थप्छन् –‘च्याब्रुङ नाच लिम्बू जातिसँग सम्बन्धित भए पनि यो हामी सबै जातिको सम्पति हो । यसलाई संरक्षण गर्नु हामी युवाहरुको सामूहिक दायित्व हो, त्यसलाई पूरा गर्दैछु । मलाई च्याब्रुङ नाच्दा गर्व महसुस भएको छ ।’

धरानस्थित चुम्लुङ हिममा च्याब्रुङ नाच प्रशिक्षणका सहभागी । तस्वीर : सागर सरगम चेम्जोङ ।

च्याब्रुङ बाजाको उत्पत्ति मुन्धुममा वर्णित एकै आमाको कोखबाट जन्मिएका केसामी (बाघ) र नाम्सामी (मानिस)बीचको युद्ध कथासँग सम्बन्धित छ । केसामीलाई धनुषवाण प्रहार गरेर मारिसकेपछि नाम्सामीले आफ्नो दाजु केसामीको छाला काढेर च्याब्रुङ बनाएका हुन् भन्ने मान्यता छ । केसामीको छालाबाट बनिाइएको बाजा भएकाले यसलाई के भनिएको भनिन्छ ।

ठूलो काठको ढुङ्ग्रोमा दुवैतिर पातलो छाला मोडेर बनाइने यो बाजामा खरीको प्रयोग गरिंँदैन । मृत गोरु वा गाईको छाला प्रयोग गरिने भए तापनि कतै–कतै बाघको छालासमेत प्रयोग गरिने बुढापाकाको भनाइ छ । विवाह, भोजभतेर र विभिन्न कार्यक्रमहरुमा बेग्लाबेग्लै लय वा भाकामा बजाइने च्याब्रुङसँगै झ्याम्टा पनि ताल मिलाएर बजाइने प्रचलन छ ।

प्रीयस्का चाम्लिङ महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक चौथो बर्षमा अध्ययनरत विद्यार्थी हुन् । उनी पढाईका अतिरिक्त नृत्य प्रशिक्षकका रूपमा पनि काम गर्छिन् । यस पटक प्रीयास्का पनि च्याब्रुङ नाच सिक्न चुम्लुङ हिम आइन् । नाच सिकेर के फाइदा हुन्छ त ? भनेर गरिएको प्रश्नमा उनको जावफ यस्तो छ –‘म नृत्य प्रशिक्षक हुँ । मेरो गाउँ संखुवासभा हो । मेरो गाउँमा यहाँ सिकेको च्याब्रुङ नाच सिकाउने मन छ ।’

संखुवासभास्थित उनको गाउँमा च्याब्रुङ नाचको खासै प्रचलन छैन । सबैभन्दा ठूलो चाहिँ उनलाई नयाँ कुरा सिक्न पाएकोमा खुशी मिलेको छ रे । च्याब्रुङ नाचपछि उनी साकेला सिलि पनि सिकेर दुबै नाच आफ्नो ठाउँमा सिकाउने योजना सुनाउँछिन् । प्रीयस्का भन्छिन् –‘अहिले यो जात, त्यो जात भन्दै समाज अतिवादतिर लम्किरहेको बेला यस्ता सांस्कृतिक नाचहरुले समुदाय जोड्न मद्दत गर्छ भन्ने मेरो बुझाइ हो । यसर्थ म च्याब्रुङ नाच सिक्न आएकी हुँ ।’

च्याब्रुङ नाचको आधारभूत ताल कुसरक्पा हो । यसमा पनि विविधता हुन्छ । यो कहिले गोलो घेरामा, कहिले अर्धगोलाकार त कहिले सरल रेखामा नाचिन्छ । नृत्यकारहरुले एउटै तालमा खुट्टा अघि पछि सार्छन् भने हातले गर्ने अभिनय उत्रिकै रोचक हुन्छ । नाचको गति, बोल र अभिनय हेरेरै नृत्य कहाँ पुग्यो भन्ने कुरा च्याब्रुङका पारखीले थाहा पाउन सक्छन् ।
कुखुराको भाले, परेवा, मुजुर, ढुकुर, कोइली, भँगेरा, सर्प, पतली, दुम्सी, मृग, बाँदरजस्ता जीवजन्तुको हाउभाउको अनुकरण गरिएको हुन्छ । यो नाचमा गाइने मुन्धुममा पृथ्वीको वर्णन गरिएको हुन्छ ।

१० दिने च्याब्रुङङ प्रशिक्षण कार्यमा भेटिए सहायक प्रशिक्षक मिलन थुलुङ । मिनको बुझाईमा विदेशी संस्कृतिको अनुकरण गर्नु भन्दा आफ्नै देशको मौलिक संस्कार र संस्कृतिको उत्थान र विकासमा लाग्दा आनन्द मिलेको बताउँछन् । उनी भन्छन् –‘उत्पत्ति र विकास कुनै जाति विशेषबाट सुरु भए पनि अन्ततः नेपालका सबै लोक बाजा, नृत्य र संस्कृति हामी सबैको साझा सम्पति हुन्छन् । तिनको संरक्षण त्यो जातिले मात्रै गर्नु पर्छ भन्ने हुदैन । यो त आम नेपालीहरुको दायित्व हो ।’ सामुदायिक सद्भाव र एकताको लागि च्याब्रुङ नाचिन्छ भन्ने विचार राख्ने उनी करिब ८ र्वादेखि च्याब्रुङ नाच्दै आएका युवा हुन् ।

विशेषतः लिम्बु समुदायका मानिसहरूले उधौली (यक्वा), उभौली (चासोक), माघे संक्रान्ति (ककफेवा तङ्नाम) लगायत विवाह, भोजभतेर, घरपैंचो (नयाँ घरमा सरेका बेला) जस्ता रमाइला उत्सवहरुमा च्याब्रुङ नाच्ने गर्दछन् । याक्खाहरुको पनि चाडपर्व र संस्कारजन्य धेरै कुरा लिम्बूसँग मिल्ने हुनाले च्याब्रुङ यी दुवै समुदायका लागि प्रिय र अभिन्न बाजा र संस्कृति हो ।

वृत्ताकार शैलीमा घेराबन्दी भएर मुन्धुम गाउँदै च्याब्रुङ नाच्ने नाचिन्छ । च्याब्रुङ बजाउँदा प्रायःजसो दाहिने ताल हातले एक पटक र देब्रे ताल लठ्ठीले दुई पटक हिर्काइन्छ । यसरी बजाइएको च्याब्रुङको धुन प्राकृतिक र कर्णप्रिय हुन्छ ।

के लाङ महोत्सव २०७४ का सहभागीहरु फिदिम माविको खेलमैदानमा सामुहिक च्याब्रुङ नाच्दै । फोटो : सुसन राई ।

विभिन्न समुदायका मौलिक र सांस्कृतिक नृत्यलाई संरक्षण, प्रवद्र्धन र विकास गर्न पर्दछ भन्ने मान्यता रक्षा राईको पनि छ । च्याब्रुङ नाच प्रशिक्षणमा सहभागी भएकी उनी र उनी जस्तै युवा पुस्ताको एउटै भनाइ छ –बदलिँदो समय संगै आधुनिकताको नाममा युवाहरू विदेशी संस्कृतिमा रुमलिदै जाँदा आफ्नै संस्कार संस्कृति भूल्न थालिएको छ ।

अब दिनमा यस्ता प्रशिक्षणहरुले सांस्कृतिक पुनर्जागरणमा योगदान गर्ने अधिकांश सहभागीहरुको तर्क छ । संस्कार संस्कृतिको पुस्ताहस्तान्तरणमा पुराना पिढी र युवा पिढी दुवै सचेत हुनुपर्ने उनीहरुको भनाइ छ ।

लिम्बु र गैरलिम्बू गरि करिब ६० जना प्रशिक्षार्थी सहभागी १० दिने प्रशिक्षण लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्य समिति सुनसरीको आयोजनामा सम्पन्न भएको हो ।

मुख्य प्रशिक्षक कुमार चोङ्बाङले सैद्धान्तिक र प्रयोगात्मक गरि प्रत्येक दिन दुई सेसनमा च्याब्रुङ नाच बारे प्रशिक्षण दिएका थिए भने चुम्लुङका सुनसरी जिल्ला अध्यक्ष मोहन हुक्पा चोङबाङ र याक्थुङ कल्चरल ग्रुपलगायतले आर्थिक सहयोग गरेको थियो ।

लिम्बू लोकबाजा च्याब्रुङ (के) संरक्षणका लािग लिम्बूजन्य संघसंस्थाहरुको अगुवाईमा २०७४ फागुन ८ गते पाँचथरको फिदिममा ४ सय बढी च्याब्रुङ जम्मा गरेर केलाङ महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा पूर्वी नेपालका विभिन्न जिल्ला र भारतको सिक्कमबाट समेत केलाङ टोली सहभागी भएको थियो ।

तत्कालीन प्रदेश नम्बर १ का प्रदेश प्रमुख गोबिन्दबाहादुर तुम्बाहाङले महोत्सवको उद्घाटन गरेका थिए । प्रदेश प्रमुख तुम्बाहाङले केलाङ महोत्सवले लिम्बू जातिलगायत सांस्कृतिक एकतालाई मजबुत पारेको प्रतिक्रिया दिएका थिए ।

 

Advertise Expired !

2 thoughts on “च्याब्रुङ नाचमा गैर लिम्बू युवाको चासो

  1. केलाङमा पालाम भनिन्दैन । र केको मुन्धुम गलत छ यहाँ । तपाइको मुन्धुम र लेखको स्रोत के होला ! अलि अध्यन गरेर लेखौं ।

  2. सांस्कृतिक सहकार्य र सह अस्तित्वको विकास गर्ने अनि जातिय पहिचानलाई पनि जगेर्ना गर्ने यो कार्य अत्यन्त अनुकरणीय र प्रशंसनिय छ !
    लेख धेरै राम्रो लाग्यो ! यस्ता लेखहरू ले सांस्कृतिक पुनर्जागरण प्रक्रियालाई अपेक्षित सहयोग पुराउदछ ! यस्ता लेखहरू अझ फिचरकाे रूपमा आयो भने बढी प्रभावकारी हुन्छ ! लेखकले आगामी दिनमा फिचर पनि लेखोस् भन्ने अनुरोध गर्दछु !

Leave a Reply

सम्बन्धित शीर्षकहरु