‘चुनावमा नेतासँगै आएको विकास चुनावपछि नेतासँगै जान्छ’
कमन देवान
१२ बैशाख, साक्फारा ।
इलाम जिल्लाको चुलाचुली ६ साक्फारा साविकको सिङ्गो गाविस । राज्य पुनर्संरचनापछिको यो गाविस अहिले चुलाचुली गाउँपालिकाको एउटा वडा हो । संघीयताले शक्तिको विन्यास गरेर गाउँगाउँमा सिंहदरबार पुर्याउने संविधान निर्माणताका राजनीतिक दलहरुले गर्व गर्दै बोलेका शव्द हुन् । तर, साक्फारावासीका लागि यो वाक्यांश व्यंग्य जस्तो मात्रै लाग्छ । वडा कार्यालयबाट सेवा दिन तीन–तीन वटा कार्यालय भवन निर्माण गरेर पनि सहजता छैन ।
तराईको उखरमाउलो गर्मीको अनुभूति गराउने तोरीबारीदेखि सुरु हुने साक्फारावासीका दुःख, गुनासा र असन्तुष्टि जति उत्तर दिशा वा उकालो चढ्दै जान्छ, उति उति अग्लिँदै र चिसिँदै पनि जान्छ । एउटै वडा तराईको समथर फाँटदेखि उच्च पहाडी लेकसम्म छ, साक्फारा । वडा जति ठूलो आकारको छ, समस्या उत्ति नै । यिनै दुःख र गुनासा यहाँका जनताले करिब तीन दशकदेखि चुनावमा भोट माग्दै आउने राजनीतिक दल र उम्मेद्वारहरुलाई सुनाउँछन् । उम्मेद्वारले सुन्छन् पनि, तर समस्या ज्युँकात्युँ ।
‘पहिले (स्थानीय तह पुनर्संरचनाको समयमा) त दोधारको अवस्था भयो । बाँझोसँग मिल्ने कि चुलाचुलीसँग भनेर । हामीले आम सहमति गरेर तराईको समथर भूभागसहितको चुलाचुलीमा मिल्ने निर्णय गर्यौं । तर, पछि मात्रै पो थाहा भयो, गाउँपालिका बन्दा हाम्रो साक्फारा त सिङ्गो एउटा वडा भएछ’, फुङनाम बजारमा व्यवसाय गरेर बसेका ५८ वर्षीय भक्त श्रेष्ठ सम्झन्छन् ।
पछिल्ला वर्षहरुमा साविक साक्फारा दुई वटा वडा हुनुपर्छ भन्ने आफूहरुको माग रहँदै आएको उनको भनाइ छ । ‘हामीले यो विषयमा ध्यानाकर्षण गराउन वडामा पूरै चुनाव वहिस्कार गर्ने कि भन्ने पनि सोचेका थियौं, तर वडास्तरबाट विद्रोह गर्दा पनि राष्ट्रिय वहस नबन्ने रहेछ, त्यसैले चुनावमा अघिल्लो पटक र यस पटक आएका उम्मेद्वारलाई यो विषय भनिरहेका छौँ, तर सुनवाई भएको छैन’, श्रेष्ठले भने ।
यस पटक पनि भोट माग्दै आएका उम्मेद्वारहरुलाई साक्फाराका जनताले यिनै समस्या सुनाए । तर, थाहा छैन ? उनीहरुका यी समस्या समाधान कहिले र कसले जितेपछि हुने होला ! यहाँ पनि भोट माग्दै उम्मेद्वारहरु भने पुगेका छन् ।
‘हाम्रो यो बाटो बन्ने कुरा मैले २०२८ सालदेखि सुनेको हुँ । ०४८ सालदेखि चुनाव आउँदै पिच्छे नेताहरु भोट माग्न आउँदा यो बाटो बनाइदिन्छौँ भने । तर, अघि आउँदा देख्नु भो होला । बर्खा नलाग्दा त बाटोको हालत यस्तो छ, बर्खा लागेपछि के होला ?’,चुलाचुली ६ रमितेका ६६ वर्षीय मिराप्पा किरातीले भने । ‘हाम्रोमा त चुनाव आउँदा विकास पनि नेतासँगै आउँछ र चुनाव सकिएपछि नेतासँगै हराउँछ’, उनले व्यंग्य कसे ।
पञ्चायत कालदेखि भोट हाल्दै आएको सम्झँदै ६२ वर्षीया कल्पना राईले भनिन् –‘कति हालियो हालियो भोट । भोट हाल्यो, नेताले जितेर बिर्सिहाल्छ । बल्ल श्रमदान गरेर अस्ती दशैँमा बिजुली आयो । अरु त कहिले हो कहिले ।’
राईलाई जस्तै बाटो, बिजुली, खोनपानी, स्वास्थ्य र शिक्षाका अतिरिक्त ारज्यबाट पाइनु पर्ने सेवासुविधा सहज गरी चाहिएको छ तोरीबारी निवासी जितबहादुर मगरलाई पनि । ‘हामीलाई वडा विभाजन नभएसम्म सहज सेवा सुविधा उपलब्ध हुँदैन । वडाले तीन तीन ठाउँमा कार्यालय राखेर सेवा दिन खोज्दा पनि सम्भव छैन’, मगरले भने ।
वडाको भौगोलिक अवस्थालाई हेरेर चुलाचुली ६ का तीन भेगमा कार्यालय भवन निर्माण गरिएको छ । ‘दशमी र तोरीबारीबाट सेवा दिँदै आएका छौँ, कर्मचारीको अभावले रमितेको पक्की भवनबाट भने सेवा दिन सकिएको छैन’, चुलाचुली ६ का वडा अध्यक्ष दिलकुमार राईले भने ।
वडा अध्यक्ष राईका अनुसार तोरीबारीस्थित सेवा केन्द्रमा वडा सचिव बस्छन् । सेवाग्राहीका काम गर्न थप दुई जना दैनिक ज्यालादारीमा खटाइएका छन् । एक जना कृषि प्राविधिक र कार्यालय सहायकले दशमीस्थित वडा कार्यालयका काम र कृषि सम्बन्धि कार्य गर्दै आएका छन् ।
‘म दशमीबाट एउटा नागरिकताको सिफारिसमा सही गर्न तोरीबारी झर्नुपर्छ । तल झरेपछि वडा कार्यालय नै रित्तो हुन्छ । त्यसैले हामीले तीन दिन माथि र तीन दिन तल गरेर जनतालाई सेवा दिने गरेका छौँ’, उनी भन्छन् ।
आफूहरु निर्वाचित भएपछि लगातार दुई वटा गाउँसभाबाट सर्वसम्मत वडा विभाजनका लागि प्रस्ताव पास गरेर संघमा पठाइएको जानकारी दिँदै उनले भने –‘हामीले पालिकाबाट गर्न सक्ने गरेर पठाएका हौँ, तर माथिको कुरा के हो के ?’
साक्फाराको बाटोघाटोदेखि खोनपानी, स्वास्थ्य सुविधा, कृषि उत्पादनको बजारीकरण आदि वडाको विभाजनपछि सहज हुने राईको अनुमान छ ।
तर, प्रदेश र संघमा आफ्नो क्षेत्रबाट निर्वाचित भएर गएका सांसदहरुलाई चुनावपछि अर्को चुनावमा मात्रै भोट माग्न आएका देख्दा भने अचम्म लागेको वडा अध्यक्ष राईले खुलासा गरे । ‘हामीले हाम्रो प्रतिनिधिहरुलाई चुनावमा भेटेपछि अर्को चुनावमा मात्रै भेट्न पाउँछौँ । उहाँहरुलाई साक्फारा आउन के ले रोकेको होला थाहा छैन’, राईले भने ।
साक्फाराको तोरीबारी खण्डमा केन्द्रीय प्रसारण लाइनको बिजुली बल्छ । गत कार्तिकमा दशमी बजार वरिपरि विजुली बलेको छ । फुङनाममा लघु जलविद्युतका भरमा २ सय घरपरिवार आश्रित छन् ।
वडाभरमा एउटा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकीसमेत नरहेको तोरीबारीकी शान्तिकला राईले बताइन् । ‘गर्भवती महिलालाई जाँच्ने सुविधासमेत पाएका छैनौँ, अरु त के भन्नु र ?’, उनले दुःख पोखिन् ।
साक्फाराको तोरीबारी, कर्केनीटार, सिस्ने, आशेटार र फुङनामसम्म एउटा वडा र त्यस भन्दा माथिका भूभागलाई अर्को वडामा विभाजन गर्न पाए स्थानीयलाई राहत हुने उनको भनाइ छ ।