१४८ मतदान केन्द्र, ७४५ कर्मचारी र ३ हजार सुरक्षाकर्मी परिचालित
१३ बैशाख, दमक ।
इलाम–२ को उपनिर्वाचनको समय नजिकिएँसँगै गएराति (बुधबार मध्यरात) बाट मौन अवधि सुरु भएको छ । मौन अवधि सम्बन्धित निर्वाचन क्षेत्रका मतदातालाई शान्तसँग सोच्नका निम्ति दिइएको समय हो ।
यहि शनिबार हुने मतदानको ठीक ४८ घण्टा अघिबाट सुरु भएको मौन अवधिको समयमा कुनै पनि उम्मेदवार वा उम्मेद्वारका प्रतिनिधिले चुनावी प्रचार गर्न, मत माग्न वा कुनै पनि किसिमले मतदातालाई प्रभावित पार्ने कार्य गर्न पाउँदैनन् ।
निर्वाचन आचार संहिता, २०७९ को व्यवस्था अनुसार राजनीतिक दल, उम्मेदवार, सामाजिक अगुवा, मिडिया वा मिडियाकर्मी, मतदाता स्वयम्ले पनि कुनै पनि किसिमका चुनावी प्रचार गर्न प्रतिबन्ध हुने निर्वाचन आयोगले जनाएको छ ।
साथै भोजभतेर, सभा, गोष्ठी, छलफल आदि निषेधित हुने बारे बुधबार साँझ नै आयोगले विज्ञप्तिमार्फत प्रतिबन्धित गरेको हो । चुनावी प्रचार निषेध गरिएको जनाएको छ ।
मौन अवधिमा निर्वाचन प्रचारका कुनै पनि कार्य नगर्न र फेसबुक, भाइबर, एसएमएस जसता विद्युतीय माध्यमबाट समेत मत मागन नहुने साथै उम्मेद्वार वा निजका प्रतिनिधिबाट कुनै पनि किसिमको उपहार, नगद वा जिन्सी लिन नहुने जनाएको हो ।
जिल्ला निर्वाचन कार्यालय इलामका निर्वाचन अधिकृत देवीचरण फुयालले निर्वाचन आचार संहिता पालना भए नभएको बारे प्रभावकारी अनुगमन गरिने बताएका छन् । ‘आचारसंहिता अनुगमन समितिका तर्फबाट यसको कार्यान्वयनका लागि हामी अनुगमनमा गर्दैछौँ’, फुयालले भने ।
१लाख १६ हजार ८८९ मतदाता रहेका इलाम २ मा ८९ मतदानस्थल र १४८ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
शनिबार हुने उपनिर्वाचनमा १२ वटा विभिन्न दल र ७ जना स्वतन्त्रसहित १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
निर्वाचन अधिकृत फुयालका अनुसार निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्री बुधबार नै सबै मतदानस्थलहरुमा पठाइएको छ । निर्वाचन गराउन इलाम २ का लागि ७४५ जना कर्मचारी खटाइएको छ भने निर्वाचन सुरक्षाका लागि ३ हजार बढी सुरक्षाकर्मी परिचालित छन् ।
मतदान केन्द्र तयारीका लागि बिहीबार र शुक्रबारको समय निर्धारण गरिएको कार्यालयले जनाएको छ ।