१९ असार, दमक ।

राष्ट्रिय समाचार समिति (रासस) लाई राष्ट्रको आवाज बोक्ने निष्पक्ष समाचार संस्था बनाइने अध्यक्ष धर्मेन्द्र झाले बताएका छन् ।
आइतबार बिहान झापाको भद्रपुरस्थित राससको झापा कार्यालय निरीक्षणका क्रममा अध्यक्ष झाले राससको स्तरोन्नति गरेर निष्पक्ष समाचार संस्थाका रूपमा विकास गरिने बताएका हुन् ।
रासस जनताको करबाट सञ्चालित सरकारी निकाय भएको भन्दै झाले यसको सेवा जनमुखी, पूर्वाग्रहमुक्त र देशको आवाजवाहक हुनुपर्ने धारणा राखेका थिए ।
अध्यक्ष झाले भने –‘राष्ट्रको प्रतिष्ठा जोडिएको संस्था भएकोले राससकर्मीले राजनीतिक आग्रह र पूर्वाग्रहबाट मुक्त भएर निष्पक्ष र साझा बनेर काम गर्नुपर्दछ ।’
राससले उत्पादन गर्ने समाचार सामग्री थप विश्वसनीय, जनमुखी र खोजमूलक बनाउन आफ्नो भूमिका रहने भन्दै उनले ग्राहक र पाठक वृद्धिका लागि कार्ययोजना ल्याइने जिकिर गरे ।
झासँगै नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल, प्रेस काउन्सिल नेपालका अनुगमन अधिकृत लोकराज भट्ट, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्षद्वय गोबिन्द्रचन्द क्षेत्री र मोहन काजीलगायत रासस कार्यालय झापा पुगेका थिए ।
रासस झापा कार्यालयकी प्रमुख चन्द्रकला भण्डारीले राससको स्थानीय अवस्था, अवसर र चुनौतिका विषयमा जानकारी गराएकी थिइन् ।

