adv

३ जना हत्याका आरोपी सार्वजनिक

१९ असार, विर्तामोड ।


भारतीय नागरिकलाई हत्या गरी बोरामा हालेर फाल्ने घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आइतबार इलाका प्रहरी कार्यालय विर्तामोडले घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा अर्जुनधारा– ७ की ३२ वर्षीया जानुका देवी थापा, ४९ वर्षीय विजय भन्ने बृखबहादुर थापा र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका–१० बस्ने २५ वर्षीय सुरेश परियार छन् । हत्या घटनामा संलग्न थप एक जना फरार रहेको र उनको पनि खोजी भइरहेको प्रहरीको भनाइ छ ।

एक साताअघि अर्जुनधारामा भारत गुजरातका ४० वर्षीय जपडिया नरेशकुमार बाबुभाईको शव बोराभित्र फेला परेको थियो । शव ह्युम पाइपभित्र फालिएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

प्रहरीका अनुसार उनको हत्या गर्न ५ लाख रुपैयाँ खर्च भएको छ । बराह क्षेत्रका परियार र अर्का फरार एक व्यक्तिले ५ लाख नगदै लिएर उनको हत्या गरेको अनुसन्धानबाट देखिएको हो ।

झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलका अनुसार भारतीय नागरिकको हत्या गराउन जानुकादेवी थापाले पटक–पटक गरेर ५ लाख रुपैयाँ दिएको देखिन्छ ।

थापा र नरेशकुमारबीच २०७६ सालमा भारतको गुजरातमै भेट र चिनजान भएको र थापासँगको चिनजानका आधारमा नै उनी अर्जुनधारा आएको प्रहरीले गरेको अनुसन्धानबाट खुलेको छ ।

बिर्तामोड प्रहरीका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार पछिल्लो समय मृतक नरेशकुमार ५९ हजार भारतीय नक्कली नोटसहित पक्राउ परेका र इटहरीमा तारेख धाइरहेका थिए ।

तारेख धाउने सिलसिलामै असार ७ गते भारतबाट अर्जुनधारा आएर असार ८ गतेसम्म जानुकाकै घरमा बसेका नरेशकुमार ९ गते तारेखका लागि इटहरी गएर फेरि अर्जुनधारा नै फर्किएका थिए ।

९ गते राति साढे ८ बजे उनीसहित परियार र अर्का एक व्यक्तिले सँगै मादकपदार्थ खाएको र सोही समयमा कुटपिट गरी फलामको मार्तोलले शरिरका विभिन्न भागमा हिर्काएर उनको हत्या भएको अनुसन्धानमा देखिएको छ ।

पक्राउ परेकाहरुउपर कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु