२५ असार, काठमाडौं ।

प्रदेश नम्बर १ को नामाकरणलाई लिएर राजनीतिक सरगर्मी बढ्दै गएको बेला विभिन्न राजनीतिक दल सम्बद्ध लिम्बुवानजन्य संगठनहरुले प्रदेश नम्बर १ लाई पहिचान, ऐतिहासिक पृष्ठभूमि र थातथलोका आधारमा लिम्बुवान किरात प्रदेश नामाकरण गर्नुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमाले, नेपाली कांग्रेस, एकीकृत माओवादी, जनता समाजवादी (जसपा), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेताहरुले प्रदेश नम्बर १ मा लिम्बुवान र किरात पहिचानलाई स्थापित गरेर साझा प्रदेशका रूपमा लिम्बुवान किरात प्रदेश कायम गराउन सके राजनीतिक स्वीकार्यता बढेर जाने जिकिर गरेका हुन् ।
प्रदेश नामाकरण बारे राजनीतिक वृत्तमा खासगरी नेकपा एमाले कोशी प्रदेश नामारकरण बारे लबिङ गरिरहेको छ भने नेपाली कांग्रेस सत्ता गठबन्धन दलहरुको भावनासमेत समेटिएको नामाकरण गराउनुपर्ने भन्दै अत्तो थापेर बसेको छ ।
नेकपा माओवादी केन्द्र कोशी वा सगरमाथा जे राखे पनि किरात थप गर्न पाए पहिचान पक्षधरहरुको माग समेटिने बुझाइमा रहेको छ । त्यस्तै गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेकपा (एकीकृत समाजवादी) भने पहिचानलाई कुनै न कुनै रूपले समेटेर नामाकरण गर्न पाए एमालेको कोशी अडान तोडिने मनसायका साथ बहुपहिचानयुक्त नामाकरणमा जोड गरिरहेको छ ।
जसपाले गत वर्ष नै प्रदेश नम्बर १ को नामाकरण किरात–लिम्बुवान–मधेस–शेर्पालुङ प्रदेश राख्नुपर्ने धारणा व्यक्त गरेको छ भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पहिचानका आधारमा लिम्बुवान–किरात (खम्बुवान)को पक्ष नामाकरण गर्नुपर्ने मान्यतामा छ ।
राजनीतिक सकृयतालाई हेर्दा एमाले र कांग्रेसको गृहकार्य र अडान पहिचानको विपक्षमा छ । तर, यी दुवै पार्टी सम्बद्ध भातृ संगठनहरुले भने प्रदेश नम्बर १ को नामाकरण लिम्बुवान किरात हुनुपर्ने माग अघि सार्दै आन्दोलनको चेतावनी दिएका छन् ।
लिम्बुवान किरात संयुक्त संघर्ष समितिमा आबद्ध एमाले निकट लोकतान्त्रिक लिम्बू संघका तर्फबाट त्रिवेण्ी चोङबाङ, कांग्रेस निकट लिम्बूहरुको तर्फबाट उत्तमसिंह थाङ्देन, जसपा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम, माओवादी केन्द्र सम्वद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मुक्सामहाङ मेन्याङबोलगायतले किरात लिम्बुवान प्रदेशको मागलाई नजर अन्दाज गरिए कडा संघर्षमा उत्रिने चेतावनी दिएका हुन् ।
एमालेसम्वद्ध लोकतान्त्रिक लिम्बू संघका अध्यक्ष चोङवाङले भने –‘प्रदेश १ को नाम पहिचानमा आधारित लिम्बुवान किरात हुनुपर्छ भन्नेमा एमालेभित्रका पहिचान पक्षधर एक छौं । हामी चाहान्छौं, पार्टीले हाम्रो भावनामा आघात पुर्याउने काम नगरोस् । प्रदेश नम्बर १ को नाम लिम्बुवान किरात नै हुनुपर्छ ।’
कांग्रेस नेता थाङ्देनले भने –‘लिम्बुवान किरात प्रदेश नम्बर १ भूगोलको नाम हो । यसमा असहमति जनाउनुपर्ने कुनै कारण छैन । कोशी, सगरमाथा जस्ता नामाकरण गर्ने चाहाना राख्ने शक्तिहरुले लिम्बुवान किरातका जनताको भावनामाथि आघात पुर्याउने कोसिस गरिरहेका छन्, त्यो स्वीकार्य छैन ।’
जसपा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष माखिमले भने –‘कांग्रेस एमालेले पहिचान विरोधी नाम राख्ने भए कांग्रेस एमाले प्रदेश राखोस्, यसले हामीलाई थप आन्दोलनमा जान सहज हुन्छ । हामी निहुँ खोजीरहेका छौं, कांग्रेस एमालेले बहुमतले पहिचानविहीन नाम पारित गरोस्, त्यसपछि सात प्रदेश रहेको नेपालमा आठौं प्रदेशको निम्ति आन्दोलन उठ्छ ।’
माओवादी केन्द्र सम्वद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मेन्याङबोले भने –‘प्रदेश १ को नामाकरण निकै जटिल विषय हो । प्रदेश सभाको गणितले सहजै नामाकरण गर्न सकिने भए पनि समग्र लिम्बुवान किरातवासीको भावनालाई कुल्चेर अगाडि बढ्न सहज छैन । हामी पहिचान मासेर कोशी, सगरमाथा प्रदेश बनाउनु पर्छ भन्ने मतलाई खारेज गर्छौं । आन्दोलनमा जानुको विकल्प रहँदैन ।’
पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले पहिचानको आधारमा प्रदेशको नामाकरण नगरिए निर्णायक आन्दोलन गर्ने चेतावनी दिए । उनले भने –‘राज्यपक्षले आदिवासी जनजाति आन्दोलनसँग धेरै पटक पहिचानको आधारमा प्रदेशको नामाकरण गर्ने सहमति गरेको छ । सहमति विपरित पहिचानलाई पाखा लगाएर नामाकरणको तयारी गर्नु आदिवासी जनजाति आन्दोलनप्रति धोका हो । हामी स्वीकार्न सक्दैनौ । यसको सशक्त प्रतिरोध गर्छौं ।’
कार्यक्रमको संयोजनकर्ता किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले प्रदेश १ को नाम लिम्बुवान किरात बाहेक अरु हुनै नसक्ने दावी गरे । उनले पहिचानको विपक्षमा राजनीतिक दलहरुले गरिरहेको क्रियाकलाप कालान्तरमा उनीहरुकै निम्ति घातक हुने टिप्पणी गरे । येक्तेनले भने –‘राजनीतिक दलहरुले जे गर्न खोजिरहेका छन् यसले द्वन्द्व निम्त्याउँछ, पहिचान पक्षधरहरुलाई ध्रुविकृत गर्दै विद्रोहको बाध्यात्मक अवस्थासम्म पुर्याउन सक्छ ।’

