२५ असार, काठमाडौं ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाले स्थापना गरेको फोनिज युके पत्रकारिता पुरस्कार र सम्मान दुई जना फोनिजकर्मी पत्रकारहरुलाई प्रदान गरिएको छ ।
फोनिज युके पत्रकारिता पुरस्कार २०२२ बाट पत्रकार निलिफा सुब्बा पुरस्कृत भएकी छन् भने फोनिज युके पत्रकारिता सम्मान २०२२ बाट पत्रकार टिकाराम प्रधान सम्मानित भएका हुन् ।
धरान निवासी सुब्बा बेलायतबाट प्रसारित बिएसबिएफ गोर्खा रेडियोसँग आबद्ध छिन् । उनी फोनिज प्रदेश नम्बर १ को सल्लाहकार पनि हुन् । त्यस्तै कान्तिपुर पब्लिकेशनको अंग्रेजी दैनिक काठमाण्डु पोष्टसँग आबद्ध प्रधान फोनिजका पूर्व केन्द्रीय कोषाध्यक्ष पनि हुन् ।
शुक्रबार काठमाडौंमा आयोजित पुरस्कार वितरण समारोहमा आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थाप मगरले दुवै जनालाई पुरस्कार र सम्मान प्रदान गरेका हुन् ।
सम्मान र पुरस्कारको राशी जनही २५ हजार नगद र सम्मानपत्र रहेको छ । फोनिज युकेले सञ्चार क्षेत्रबाट आदिवासी जनजाति समुदायको विकासका लागि कलम चलाउँदै आएका पत्रकारहरूलाई हरेक वर्ष पुरस्कृत र सम्मानित गर्दै आएको छ ।
पुरस्कार वितरण समारोहमा बोल्दै आदिवासी जनजाति आयोगका अध्यक्ष थापा मगरले आदिवासी जनजातिहरूको हकहित र अधिकार सुनिश्चितताका लागि फोनिजकर्मीहरुको ठूलो भूमिका रहेको बताए ।
उनले विभिन्न समयमा भएको आदिवासी जनजाति आन्दोलनको उपलब्धि रक्षाका लागि अझै पनि संघर्ष गर्न आवश्यक रहेको बताए ।
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले पुरस्कारले आदिवासी जनजातिको मुद्दामा कलम चलाउने पत्रकारहरूलाई प्रोत्साहन मिल्ने र आदिवासी जनजाति आन्दोलनलाई पनि सहयोग पुग्ने बताए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको आयोजनामा पुरस्कार वितरण समारोह सम्पन्न भएको हो ।


