२५ असार, काठमाडौं । (एजेन्सीको सहयोगमा)

श्रीलंकाको राजधानी कोलम्बोमा प्रदर्शनकारीहरूले राष्ट्रपति गोटाबय राजपक्षको सरकारी निवासमा प्रवेश गरेर कब्जामा लिन खोजेपछि तनाव उत्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाए अनुसार प्रदर्शनकारीहरुले राष्ट्रपति निवास कब्जामा लिन खोजेपछि राष्ट्रपति राजपक्षलाई सुरक्षित स्थानमा लगिएको छ ।
श्रीलंकाले भोगिरहेको खराब आर्थिक संकटलाई राष्ट्रपतिले सही ढङ्गले सम्बोधन गर्न नसकेको भन्दै आक्रोशित प्रदर्शनकारीले राष्ट्रपति निवास प्रवेश गरेर कब्जामा लिन खोजेका थिए ।
प्रदर्शनकारीको भीड थाम्न सुरक्षा निकायलाई धौ धौ परेको समाचारहरूमा उल्लेख छ ।
प्रदर्शनकारीहरुले राष्ट्रपतिको राजीनामा माग्दै ‘गोटा गो होम को नारा लगाएका बताइएको छ ।
एएफपी समाचार संस्थासँग कुराकानी गर्दै एक जना वरिष्ठ रक्षा अधिकारीले राष्ट्रपतिलाई सुरक्षित रूपमा बाहिर लगिएको पुष्टि गरेका हुन् । राजपक्षलाई सेनाले उच्च सुरक्षाका साथ राखेको बताइएको छ ।
राजनीतिक घटनाक्रम बिग्रिएर गएको बेला प्रधानमन्त्री रनिल विक्रमासिंघेले राजनीतिक दलका नेताहरूको आपत्कालीन बैठक बोलाएको समाचार छ ।
श्रीलंका सङ्कटको कारण के हो ?
महामारी, बढ्दो ऊर्जा मूल्य अनि लोकप्रियतावादी कर छूटजस्ता कारणहरूले गर्दा श्रीलंकाको अर्थतन्त्र सङ्कटमा परेको देखिन्छ ।
विदेशी मुद्राको निरन्तर अभाव तथा अकासिएको महँगीले त्यहाँ औषधि, इन्धन तथा अत्यावश्यक वस्तुहरूको चरम अभाव भइरहेको छ ।
पछिल्ला साताहरूमा त्यहाँ ठूल्ठूला प्रदर्शनहरू भए । राष्ट्रपति गोटबय राजपक्ष तथा उनका परिवारविरुद्ध लक्षित प्रदर्शनहरू कहिलेकाहीँ हिंसात्मक पनि भए ।
सात दशकभन्दा लामो अवधिमा देखा परेको सबैभन्दा नराम्रो आर्थिक संकट समाधान गर्ने राजपक्षका प्रयासहरू सफल हुन सकेका छैनन् ।
उनले भारत र चीनसँग आर्थिक सहयोग लिएर इन्धन, विद्युत, खाद्यान्न र अन्य अत्यावश्यक सामानको अभाव हुन नदिने प्रयास गरेका थिए ।
आइतवार ऊर्जामन्त्री कञ्चन विजेशेकरले नियमित मागअनुसार वितरण गर्ने हो भने देशमा भएको पेट्रोल एक दिनलाई पनि नपुग्ने बताएका थिए ।
इन्धन तेल जोगाउने उद्देश्यले गत साता सरकारले अत्यावश्यक सेवाका बाहेक अन्य सवारीसाधनलाई पेट्रोल र डीजल बेच्न रोक लगाएको थियो ।
कोभिड महामारी र आर्थिक अव्यवस्थाका कारण श्रीलंकाको विदेशी मुद्राको सञ्चिति घटेको थियो । विदेशी मुद्रा नहुँदा विदेशबाट सामान आयात गर्न पनि समस्या उत्पन्न भएको हो ।
तीस दिनको थप समय पाएको भए पनि गत मे महिनामा पहिलो पटक श्रीलंका ऋण तिर्न विफल भएको थियो ।
देशलाई आर्थिक संकटबाट उद्धार गर्न अहिले श्रीलंका सरकार र अन्तर्राष्ट्रिय मुद्राकोष आईएमएफबीच तीन अर्ब पाउन्ड सहयोग उपलब्ध गराउने विषयमा वार्ता भइरहेको छ ।
इन्धन र अन्य वस्तुको आपूर्ति सहज नभएकाले अहिले महँगी चुलिएको छ ।
बिबिसीबाट साभार


