adv

साझा सहमति जुटाएर प्रदेश १ को नामाकरण गर्न पहिचानवादीको आग्रह

विर्तामोड, १० साउन । विभिन्न माग र विकल्पहरुबीचमा साझा सहमति जुटाएर प्रदेश १ को नामाकरण गर्न झापाका पहिचानवादी संघसंस्थाका प्रतिनिधिले माग गरेका छन् ।

उनीहरुले विभिन्न पक्षको माग र विकल्पहरुमा साझा सहमति जुटाउन वृहत्त गोलमेच छलफल गर्न समेत प्रदेश सरकार समक्ष माग गरेका छन् । आज मंगलबार संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले विवाद र द्वन्द्वरहित ढंगले साझा सहमतिको आधारमा यथाशिघ्र प्रदेश नामाकरण गर्न प्रदेश सभा, प्रदेश सरकार र राजनीतिकदलहरुको ध्यानाकर्षण गराएका छन् ।

छलफल र संवादको माध्यमबाट प्रदेश नामाकरणको विषय टुंग्याउन आग्रहगर्दै नामाकरणको लागिआन्दोलनरत पक्षलाई शान्तिपूर्ण आन्दोलन गर्न समेत उनीहरुको आग्रह छ । आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष भरतकुमार श्रेष्ठले प्रदेश नामाकरण पहिचानको आधारमा हुनुपर्ने धारणा राखेका छन् ।

उनले प्रदेश १ मा भूगोल भन्दा पहिचानको सभ्यता र इतिहास लामो भएकाले यसैका आधारमा प्रदेश नामाकरण गर्नुपर्ने सुझाव दिए । प्रदेशसभामा पहिचान पक्षधर सांसदको संख्या बढी भएकाले पहिचानबारे साझा धारणा बनाउन सक्नुपर्नेमाउनको जोड छ । श्रेष्ठले प्रदेश १ को नाम किरात प्रदेश राख्दा उचित हुने दाबी गरे ।

संघीय लिम्बुवान मञ्चका झापा अध्यक्ष नगेन्द्र राईले प्रदेश १ लाई लिम्बुवान प्रदेश घोषणा गर्नु पर्नेमा जोड दिए । उनले पहिचान र ऐतिहासिकताको आधारमाप्रदेश १ को नाम लिम्बुवान हुनुपर्ने माग राखे । उनले पहिचानको आधारमा राखिने नामले बिखण्डन ल्याउछ भन्ने तर्क गलत भएको दाबी गरे । लिम्बुवान राज्यका लागि निरन्तर आन्दोलन र संघर्ष जारी रहेकाले लिम्बुवान प्रदेशको अडानबाट पछि हट्न सक्ने अवस्था नरहेको बताए ।

कोचिला गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले कोच समुदायको इतिहास र सभ्यता नमेटिने गरी प्रदेश १ को नाम कोचिला प्रदेश हुनुपर्ने बताए । उनले झापा, मोरङ र सुनसरीमा मुख्य बसोबासीको रुपमा रहेको राजवंशी, ताजपरिया, गनगाई लगायतका जाति समुदायको पहिचानलाई सुरक्षित राख्नपनि कोचिला प्रदेशको विकल्प नभएको तर्क गरे ।

राष्ट्रिय जनमुक्तीपार्टीका पूर्व जिल्ला अध्यक्ष पर्शुराम मगरले प्रदेश १ लाई किराँत–लिम्बुवान नामाकरण गर्दा उचित हुने धारणा राखे । उनले पहिचान र साझा सहमतिको आधारमा नामाकरण गर्नुको विकल्प नभएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति उमेश खरेलले प्रदेशलाई विवाद मुक्त हुने गरी भूगोलको आधारमा नामाकरण गर्नुपर्ने सुझाव दिए ।

उनले सगरमाथा, कञ्चन्जंघा, कोशी लगायत भूगोल प्रदेशको साझा पहिचान भएकाले यसैका आधारमा नामाकरण गर्न सुझाए । उक्त पार्टीका जिल्ला सचिव प्रकाश पाठकले पनि जातीय पहिचानमा साझा सहमति जुटाउन नसके भूगोलको पहिचानमा साझा सहमति जुटाएर प्रदेशको नामाकरणको विवाद टुंग्याउन आग्रह गरे । कार्यक्रमका सहभागीले प्रदेशको नामसंगै संविधान अनुसार स्वायत्त क्षेत्र, विशेष क्षेत्र समेत तोकेर अघि बढ्नुपर्ने धारणा राखे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु