१० साउन, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा)निकट शेर्पाहरुको भेला साउन १४ गते काठमाडौंमा हुने भएको छ ।
शेर्पालुङ राष्ट्रिय समन्वय समितिको आयोजनामा बृहत् भेला आयोजना हुन लागेको हो ।
जसपा केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा शेर्पा पार्टी प्यालेश जोरपाटीमा हुने भेलाले शेर्पालुङ राष्ट्रिय समन्वय समितिलाई पुनर्गठन गर्ने कार्यक्रम रहेको जसपमा संघीय परिषद् सदस्य पासाङ शेर्पा छेल्हमुले जानकारी दिइन् ।
प्रदेश नम्बर १ को नाम पहिचानको आधारमा शेर्पालुङपनि जोड्नुपर्ने विषय उठीरहेको सन्दर्भमा भेलाले यस सम्बन्धमा पनि निर्णय गर्ने शेर्पाको भनाइ छ । भेला आयोजना गर्न दावा शेर्पाको संयोजकत्वमा समिति गठन गरी तयारी समेत पूरा भएको केन्द्रीय सदस्य लाक्पा शेर्पाले जानकारी दिए ।
जसपाको ११ वटा समिति मध्ये शेर्पालुङ राष्ट्रिय समिति एक हो । शेर्पाहरुको वसोवासको आधारमा भूगोललाई वागमती र प्रदेश नम्बर १ मा विभक्त गरेपछि समन्वय समिति गठन गर्नुपरेको केन्द्रीय सदस्य शेर्पाको भनाइ छ । दुवै प्रदेशमा राष्ट्रिय समितिहरु क्रियाशील छन् ।
शेर्पा समुदायको सभ्यता, इतिहासका आधारमा शेर्पालुङ स्थापना हुनुपर्नेमा जोड दिँदै समितिलाई पूर्णता दिएर पहिचानका आधारमा प्रदेशको नामकरणका लागि दबाब सिर्जना गर्ने रणनीति रहेको बताइएको छ । भेला आयोजनाका लागि चरणबद्ध छलफलहरु भएको र भेलाले दीर्घकालीन प्रभाव राख्ने निर्णयहरु गर्ने जनाइएको छ ।


भेला कि भोला?