११ साउन, दमक ।

प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुधबार गृहजिल्ला झापा आइपुगेका छन् ।
प्रदेश सभा र प्रतिनिधि सभा (संघीय संसद्) को निर्माचनको मिति तय हुनै लागेका बेला एमाले अध्यक्ष ओली पार्टी कामका लागि बुधबारदेखि शुक्रबार अपरान्हसम्म गृह जिल्ला झापामा रहने छन् ।
ओलीको सचिवालयले दिएको जानकारी अनुसार बुधबार झापाको विर्तामोडस्थित किङ्गस बरी होटलमा ओलीले जिल्लास्थित २१ वटा जनवर्गी संगठनका प्रमुख र प्रतिनिधिहरुसँग छुट्टाछुट्टै भेट गरेर संगठनको स्थितिबारे जानकारी लिने र निर्देशन दिने कार्यक्रम छ ।
त्यस्तै अध्यक्ष ओली आज पार्टी निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा समेत सहभागी हुनेछन् ।
भोलि बिहीबार १२ गते बिहान उनले आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ का नेता कार्यकर्ताहरुसँग गृहनगर दमकमा भेटघाट गर्ने कार्यक्रम तय भएको छ । त्यसअघि बिहानको समयमा उनले एमाले दमक नगर कमिटीको कार्यालयमा पार्टीका नगर कमिटी पदाधिकारी र माथिल्लो कमिटीका नेता कार्यकर्तासँग भेट गर्नेछन् ।
ओली बिहीबार निर्वाचन क्षेत्रमा आयोजना हुने विभिन्न कार्यक्रममा समेत सहभागी हुनेछन् । त्यस्तै उनी शुक्रबार दिनभर विभिन्न राजनीतिक भेटघाट तथा भेलामा सहभागी भएर अपरान्ह ५ बजे राजधानी फिर्ने सचिवालयले जनाएको छ ।
प्रदेश नम्बर १ को नामाकरण गर्ने विषय पेचिलो बनिरहेका बेला ओलीको तीन दिने झापा आगमनलाई निक्कै अर्थपूर्ण मानिएको छ ।
यसअघि ओलीले गत फागुन २१ गते झापाको विर्तामोडमा आयोजित प्रेस चौतारी नेपालको प्रदेश नम्बर १ अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ को नाम कोशी प्रदेश राख्न एमाले प्रदेश सभाका सदस्यहरुलाई निर्देशन दिएका थिए ।

