adv

नेपालीको मनमा विश्व अटाउनु पर्छ : पूर्व मुख्यमन्त्री चाम्लिङ

१४ साउन, दमक ।

सिक्किम भारतका पूर्व मुख्यमन्त्री पवन चाम्लिङ तनि दिने सिर्जनात्मक अनुष्ठान कार्यक्रमलाई सम्बोधन गर्दै ।

‘जसरी विश्वमा राज गर्ने शक्तिशाली देश हुनका लागि त्यो देशमा विश्व अटाउन सक्नुपर्दछ । त्यसैगरी विश्वमा राज गर्नलाई नेपालीहरुको मनमा विश्व अटाउन सक्नु पर्दछ ।’

सो कुरा सिक्किम भारतका पूर्व मुख्यमन्त्री पवन चाम्लिङले अमेरिकास्थित पेन्सिभलिया राज्यको ह्यारिसवर्गमा शनिबारबाट सुरु भएको तीन दिने बृहत् अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान ५ कार्यक्रमलाई सम्बोधन गर्दै बताएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा अमेरिका पुगेका पूर्व मुख्यमन्त्री चाम्लिङले भने –‘हाम्रो राष्ट्र, राष्ट्रियता, नागरिकता अलग–अलग छ । तर, हामी जहाँ बसेपनि जहाँको भए पनि नेपाली भाषा र संस्कृति कहिल्यै नभूलौं । यो हाम्रो पहिचान र अस्तित्व हो । यसलाई हामीले बचाउनु पर्छ । यसको लागि हामी सबैले मिलेर काम गर्नुपर्छ । यसले मात्रै हामी सबै नेपालीलाई जोडेर राख्ने छ ।’

सम्बोधनका क्रममा चाम्लिङले आफ्नो मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको र आफ्नो राज्य सिक्किम र सिक्कमेली जनताको शुभकामनाका साथ कार्यक्रममा सहभागी भएको जनाकारी दिँदै समाज निर्माण, देश निर्माणमा राजनीतिक, सामाजिक कार्यमात्रैले पर्याप्त नहुने बताए । ‘साहित्यिक, साँस्कृतिक, सांगीतिक र कलात्मक गतिविधि पनि आवश्यक हुन्छ’, उनले भने ।

जुनै धर्म, भूगोल र पेशामा रहे पनि नेपाली भाषा, साहित्य, संस्कृति, कलाको विकासमा सबै नेपालीले लाग्नु पर्नेमा जोड दिँदै चाम्लिङले त्यसो गर्न सके मात्रै नेपालीहरुको साझा पहिचानलाई स्थापित हुने र सबै नेपालीलाई एक ठाउँमा जोड्ने बताए ।

‘विश्वको जुनकुनै मुलुकमा रहे पनि हामी नेपाली नै हौं । हाम्रो भाषा नेपाली, हाम्रो संस्कृति नेपाली, हाम्रो जातीय पहिचान नेपाली’ भन्दै चाम्लिङले यस कार्यक्रमले नेपाली भाषा, साहित्यको विस्तारमा महत्वूर्ण भूमिका खेल्ने दावी गरे ।

ग्लोबल भुटनीज लिटिरेरी अर्गनाइजेशन (जिबिएलओ)को आयोजनामा जुलाई २९ देखि ३१ तारिकसम्म चल्ने सृजनात्मक अनुष्ठानमा नेपाल, भारत, अमेरिकाका विभिन्न राज्य, मेक्सिको, अष्ट्रेलिया, क्यानडा, न्युजील्याण्डलगायत मुलुकहरुबाट नेपाली भाषा, साहित्य, संस्कृति, कला क्षेत्रका चर्चित व्यक्तित्वहरु र स्रष्टाहरुको सहभागिता रहेको छ ।

स्वीकारोक्ति फाउण्डेशनका तर्फबाट भारतको आसम निवासी चर्चित नेपाली उपन्यासका रचनाकार साहित्यकार लीलाबहादुर क्षेत्रीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । यस अवार्डको धनराशी हालसम्म नेपाली साहित्यमा प्रदान गरिएको भन्दा माथि हुने बोर्ड अफ ट्रष्टीका अध्यक्ष डेन्जोम साम्पाङको भनाइ छ ।

जिबिएलओका अध्यक्ष कर्ण गुरुङको अध्यक्षतामा जारी तीन दिने अनुष्ठानमा नेपाली साहित्य, कला, संस्कृतिका उन्नयनमा योगदान गर्ने प्रतिभाहरुलाई अभिनन्दन र सम्मान, साहित्यिक वहस विमर्श, सांस्कृतिक र सांगीतिक प्रस्तुती, कृति विमोचन, शान्ति पदयात्रा र स्रष्टा भ्रमणलगायत कार्यक्रम समावेश गरिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु