१५ साउन, दमक ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) दमक नगर समितिको अध्यक्षमा पुनः खेम दाहाल चयन भएका छन् ।
आइतबार पत्रकार मञ्च दमकमा जसपा दमक नगर समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी नगर समितिको साउन १० गते शनिबार सम्पन्न पदाधिकारी बैठक र साउन १४ गते सम्पन्न पूर्ण बैठकले रिक्त नगर अध्यक्ष पदमा खेम दाहाललाई चयन गरेको जानकारी दिइएको हो ।
दाहाल तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच समायोजन हुनु भन्दाअघि फोरमतर्फका नगर अध्यक्ष हुन् । गत मंसिरमा दुवै पार्टीका तर्फबाट ६–६ महिना अध्यक्षता गर्नेगरी भेषजराज भट्टराई नयाँ शक्ततर्फबाट पहिलो कार्यकालका लागि अध्यक्ष बनेका थिए भने सम्झौता अनुसार दाहाल सह–अध्यक्ष बनेका थिए ।
हालसालै जसपा दमकका नगर अध्यक्ष भेषराज भट्टराई बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा प्रदेश गरेसँगै शनिबारको बैठकले उनलाई अध्यक्षबाट पदमुक्त गरेको बताइएको छ ।
पत्रकार सम्मेलनका क्रममा अध्यक्ष दाहालले प्रेस विज्ञप्ति वाचन गर्दै नेपाल समाजवादी पार्टीमा प्रवेश गरेका जसपा दमकका २० जनालाई पदमुक्त गरिएको उल्लेख छ । विज्ञप्तिमा अध्यक्ष दाहाल र नगर सचिव सुनिल राईको संयुक्त हस्ताक्षर छ ।
पदमुक्त गरिएकामा अध्यक्ष भट्टराईसहित उपाध्यक्ष तुलसी ढुङ्गाना, सहसचिव नानु पौडेल र सदस्यहरु क्रमशः चन्द्र धौराली, गोपाल तामाङ, पुजन बञ्जरा, करिसा लिम्बू, ज्योती लिम्बू, युवराज तामाङ, सन्तोष अधिकारी, अविनजंग कार्की, सुवोध राजवंशी, राधिका लिम्बू,
दिलकुमार पन्धाक, सुमन बुढाथोकी, नर्वु योङहाङ, विपुल गुरागाई, सम्झाना योङहाङ, गोपाल लाखे, पुरुषोतम राई छन् ।
त्यस्तै विज्ञप्तिमा रिक्त सह–अध्यक्ष पदमा हिमा राई, उपाध्यक्षमा कुलबहादुर तामाङ (अनिल लामा) र कालिकादेवी सार्की, सहसचिवमा मिलन तामाङलाई जिम्मेवारी दिइएको उल्लेख छ ।
यसैबीच जसपा दमक नगर समितिले साउन २० गते दमक–८ स्थित ट्याक्सी स्टेण्डमा पार्टी कार्यालय स्थापना गर्ने भएको छ । कार्यालय स्थापनाको अवसरमा खुला रक्तदान कार्यक्रम आयोजना गरिने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
जसपा दमक नगर समितिको अधिवेशन प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न भएको १ महिनापछि सम्पन्न गरिनेसमेत जारी विज्ञप्तिमा उल्लेख छ ।
भदौं ३१ गतेभित्र नगर समिति मातहतका सबै जनवर्गीय संगठनहरु गठन, पूनर्गठन कार्य सम्पन्न गरिने र असोज ३१ गतेसम्ममा पार्टीका वडा समितिहरु गठन, पूनर्गठन हुने बताइएको छ ।
पार्टीका प्रदेश सदस्य पदमकुमारी राईको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा जसपा झापा निर्वाचन क्षेत्र ५ (ख) का अध्यक्ष दिपक न्यौपाने, ट्रेड युनियन महासंघका झापा जिल्ला अध्यक्ष मिलन योगी लगायत सहभागी थिए ।