adv

जेम्स विद्यालय र ध्रुवताराबीच छात्रावृत्ति सम्झौता

१६ साउन, दमक ।

सोमबार सम्पन्न जेम्स विद्यालय र ध्रुवतारा स्पोर्टिङ क्लवबीच भएको सझौता कार्यक्रम ।

झापा दमकको झापा मोडल इङ्लिस स्कूल (जेम्स) र ध्रुवतारा स्पोर्टिङ क्लवबीच सोमबार दुई जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्नेलगायत विषयमा लिखित सम्झौता भएको छ ।

क्लवको सभाहलमा सम्पन्न लिखित सम्झौतामा क्लवको तर्फबाट अध्यक्ष मोहन मगर (मिन) र जेम्सको तर्फबाट प्रिन्सिपल सागर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

दुई पक्षबीच भएको १२ बुँदे लिखित सम्झौता अनुसार क्लवको सिफारिसमा दुई जना विद्यार्थीले विद्यालयबाट पूर्ण छात्रावृत्ति प्राप्त गर्नेछन् भने क्लवले विद्यालयका खेलाडीहरुलाई फुटबल खेलको प्रशिक्षण दिनुपर्ने उल्लेख छ ।

त्यस्तै विद्यालयका खेलाडी अन्यत्र खेल्न जाने अवस्थामा दुवै पक्षको सिफारिस आवश्यक हुने लगायत विषय सम्झौतामा उल्लेख छन् ।

सम्झौता गर्न आयोजित कार्यक्रममा दमक वडा नम्बर ८ का वडा अध्यक्ष धर्मप्रसाद दहाल (दिपेश)ले जेम्सले खेल क्षेत्रको उन्नयनका लागि गरेको कार्य प्रशंसनीय रहेको बताए । उनले दमक ८ का लागि व्यवस्थित खेल मैदानको निर्माणका लागि वडा कार्यालयले पहल गरिरहेको जानकारी दिए ।

दमकका क्लवहरु मध्ये पुरानो संस्था ध्रुवतारा रहेको भन्दै वडा अध्यक्ष दहालले वडाका तर्फबाट क्लवलाई सकेको सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

सम्झौताबारे प्रष्ट पार्दै जेम्सका संस्थापक जयबहादुर श्रेष्ठले विद्यालय र क्लवबीच भएको सम्झौताका अतिरिक्त पनि क्लवले आयोजना गर्ने खेलकुद कार्यक्रमहरुमा मन खोलेर सहयोग गरिने प्रतिवद्धता व्यक्त गरे ।

समाज र देश असल नागरिकहरुको योगदानले मात्रै बन्ने दार्शनिक प्लेटोको भनाइ दोहोर्याउँदै श्रेष्ठले खेलले अनुशासन र देश निर्मणमा योगदान गर्ने चर्चा गरे ।

जेम्सका प्रिन्सिपल सागर श्रेष्ठले विद्यालयलाई पढाइका अतिरिक्त विद्यार्थीहरुको सर्वाङ्गिण विकास गर्ने थलोको रूपमा रूपान्तरण गर्ने प्रयास गरिएको बताए ।

हाल विद्यालयमा भलिबल, चेस, नृत्य र चित्रकला जस्ता विधामा विद्यार्थीहरुलाई सहभागी गराइएको बताउँदै श्रेष्ठले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा विभिन्न परियोजना सञ्चालन गरिएको, नेपाली सेनाले विद्यालय तहका विद्यार्थीहरुलाई सहभागी गराउने एनसीसी तालिममा सहभागी गराइएको र स्काउटमा समेत विद्यार्थीहरुलाई आबद्ध गराइएको जानकारी दिए ।

क्लवका अध्यक्ष मिन मगरको अध्यक्षता र सचिव हिरामणि कट्वालको सञ्चालन रहेको कार्यक्रममा ध्रुवतारा स्पोर्टिङ क्लवका संस्थापक अध्यक्ष भीमराज केसी, पूर्व अध्यक्ष कमल कट्वाल, जेम्सका संस्थापक व्यवस्थापक सलोजा श्रेष्ठ, संयोजक जस्मिन श्रेष्ठलगायत क्लवका पदाधिकारी, सञ्चारकर्मीहरु सहभागी थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु