२० साउन, दमक ।
सत्तारूढ पाँच दलीय गठबन्धनले मंसिर ४ गते मिति तोकिएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा चुनावी तालमेलका लागि साउनभित्रै सिट बाँडफाट गर्ने गरी कार्यदल गठन गरेको छ ।
आज शुक्रबार बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको हो ।
सिट बाँडफाँटका लागि गठन भएको कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र सञ्चार मन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की छन् ।
यस्तै कार्यदलमा नेकपा माओवादी केन्द्रबाट नेताहरू वर्षमान पुन र देवप्रसाद गुरूङ छन् भने नेकपा एकीकृत समाजवादीबाट नेताहरू प्रमेश हमाल र बेदुराम भुषाल कार्यदलमा छन् । त्यस्तै जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रकम चेमजोङ कार्यदलमा छन् ।राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।
यो कार्यदलले साउन अन्तिमभित्र सिट बाँडफाँटबारे टुंगो लगाउने गठबन्धनको तयारी छ ।
यसअघि शुक्रबार नै बसेको सत्ता गठबन्धन बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेको थियो ।
बैठकपछि दलका शीर्ष नेतहरुले संयुक्त प्रेस नोट जारी गरेका थिए ।