
काँकरभिट्टा, २१ साउन । प्रेस क्लब मेचीनगरको अध्यक्ष डम्बर बराल निर्वाचित भएका छन् । शनिबार बेलुका काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको सभाहलमा सम्पन्न निर्वाचनबाट गठबन्धनको तर्फबाट अध्यक्षमा पे्रस युनियनका बराल निर्वाचित भएका हुन् ।
प्रेस चौतारी नेपालका तर्फबाट अध्यक्षका उम्मेद्वार शिशिर चम्लागाई १ मतको अन्तरले हराउँदै बराल विजयी भएका छन् । बरालले २४ मत ल्याएका थिए भने अध्यक्षका प्रतिस्पर्धी चम्लागाईले २३ मत प्राप्त गरेका थिए ।
क्लबको उपाध्यक्ष, सचिव र सहसचिवमा गठबन्धनका उम्मेद्वार निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट उपाध्यक्षमा प्रेस युनियनका जीआर धितालले २५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी प्रेस चौतारीका खगेन्द्र घिमिरेले २२ मत प्राप्त गरेका छन् ।
सचिवमा प्रेस युनियनकै देबु बानियाँ २८ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिस्पर्धी प्रेस चौतारीका हेमन्त निरौलाले १९ मत प्राप्त गरे । सहसचिवमा एकीकृत समाजवादी पार्टीको तर्फबाट दीलिप थापाले ३० मत ल्याई विजयी भए भने प्रेस चौतारीको तर्फबाट प्रविण अधिकारीले १७ मत मात्र प्राप्त गरेका थिए ।
निर्वाचन सहभागि भएका कुल ५९ मतदाता मध्ये ४७ जनाले मतदान गरेका थिए ।

समावेशी उपाध्यक्षमा रीता दाहाल र कोषाध्यक्षमा विनिषा शर्मा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा गठबन्धनको तर्फबाट होमराज राई, विश्वास दाहाल र सुजन प्रधान सर्वसम्मत चयन भएका छन् भने प्रेस चौतारी नेपालका गगन ढकाल, विकास देवकोटा र नेहाल दर्जी सर्वसम्मत भएका छन् ।
आज प्रेस क्लब मेचीनगरको वार्षिक अधिवेशन तथा पाँचौँ साधारण सभा सम्पन्न भएको थियो । साधारण सभाको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमख गोपाल चन्द्र बुढाथोकीले गरेका थिए ।

