शिवाकोटीलाई डिकमान पत्रकारिता पुरस्कार
२७ साउन, विर्तामोड ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले फोनिजको २३औं स्थापना दिवस तथा १०औं वार्षिक साधारण सभाको अवसरमा तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
शुक्रबार झापाको विर्तामोडमा सम्पन्न २३औं स्थापना दिवस एवम् १०औं वार्षिक साधारण सभाको अवसरमा पत्रकार भीमा शिवाकोटीलाई स्वर्गीय डिकमान सुनवार विरही वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत गरिएको हो ।
कञ्चनजंघा एफएममा कार्यरत शिवाकोटीलाई नगद २५ हजारसहित ताम्रापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
त्यस्तै फोनिज झापाले स्थापना गरेको उदीयमान पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय एपी वान टेलिभिजनका झापा सम्बा द्दाता विष्णु श्रेष्ठ र रेडियो झापाकी कार्यक्रम प्रस्तोता गंगा बेघा लिम्बूलाई जनही पाँच÷पाँच हजार रूपैंयाँ सहित पुरस्कृत गरिएको हो ।
फोनिज २३ औं स्थापना दिवस एवम् फोनिज झापाको १० औं साधारणसभालाई सम्बोधन गर्दै फोनिज संघीय समिति उपाध्यक्ष कमन देवानले फोनिजकर्मीहरुका लागि साउन २७ उत्सव र उमङ्गको दिन भएको बताए ।
फोनिजले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको योगदानलाई न्याय दिलाउने आन्दोलनको नेतृत्व गरिरहेको भन्दै देवानले नेपाल पत्रकार महासंघ र पत्रकारजन्य संघसंगठनहरुले न्यायको निम्ति सहयोग गर्नुपर्ने आग्रह गरे ।
२०६६ सालमा स्थापना भएको डिकमान बिरही वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट यस अघि स्वर्गीय अमृतलाल श्रेष्ठ, नकुल काजी, दिपिन राई, स्वर्गीय मदन ढकाल, रमेश समदर्शी राई, भीम नेम्बाङ ,माधव बिद्रोही, इन्द्रसिंह राजबंशी र कमन देवान पुरस्कृत भएका छन् ।
फोनिजमा योगदान गर्ने अग्रजलाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बाले बताइन् ।
कार्यक्रमका बीच स्वर्गीय डिकमान सुनवार विरही पत्रकारिता पुरस्कार कोष वृद्धिका लागि अध्यक्ष सुब्बाले १० हजार नगद कोषका संयोजक गणेशमान मुखियालाई हस्तान्तरण गरेकी थिइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा सचिव डिकेश लामा, फोनिज झापा संस्थापक अध्यक्ष दिपिन राई, नारी संचार गृह झापाकी उपाध्यक्ष रेजिना गौतम, नेपाल प्रेस युनियनकी अध्यक्ष इन्दु पुर्बेली, प्रेस चौतारी झापा अध्यक्ष मन कुमार गदाल, सम्मानितको तर्फबाट भीमा सिवाकोटीn] मन्तव्य राखेका थिए ।
फोनिज झापा उपाध्यक्ष सबिना साम्पाङको स्वागत रहेको कार्यक्रममा सचिव तिलक योञ्जनको सञ्चालन रहेको थियो भने अध्यक्षता भूमिका सुब्बाको रहेको थियो ।
साधारणसभाको बन्दसत्रले सचिव योञ्जनको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष नरेश गुरुङको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।
स्वर्गीय डिकमान सुनुवार विरहीको जीवनीलाई रमेश समदर्शी राईले शव्दचित्रमा वर्णन गरेका थिए भने पुरस्कृत शिवाकोटीको विवरण पूर्व अध्यक्ष गणेशमान मुखियाले वाचन गरेका थिए ।