adv

समानुपातिकतर्फ दल दर्ता आजबाट

१० भदौ, दमक ।

निर्वाचन आयोजनको कार्यालय ।

निर्वाचन आयोगले आज शुक्रबारबाट प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिकतर्फको दल दर्ता गर्दैछ ।

मंसिर ४ गते हुने निर्वाचनका लागि आयोगले समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दलको निवेदन भदौ १२ गतेसम्म लिन लागेको हो ।

समानुपातिकतर्फ उम्मेद्वारी दिने दलहरुले निर्वाचन अधिकृतको कार्यालय काठमाण्डौमा निवेदन बुझाउनु पर्ने आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–४ अनुसार दलहरुले हरेक प्रदेशको लागि अलग अलग निवेदन पेस गर्नुपर्ने छ ।

एकल चुनाव चिह्न लिइ संयुक्त रूपमा चुनावमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलको तर्फबाट निवेदन दिँदा भने सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग अलग निर्णय गरी एउटै व्यक्तिलाई अधिकार दिएकोमा अधिकार प्राप्त व्यक्ति र ती दलहरुले निर्णय गरी अलग अलग व्यक्तिलाई अधिकार दिएकोमा अधिकार प्राप्त व्यक्तिहरुले संयुक्त हस्ताक्षरसहित निवेदन दिनुपर्ने व्यवस्था छ ।

दलबाट आएका निवेदन आयोगले १३ गते प्रकाशित गर्ने छ भने भदौ १५ गते अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न प्रदान गर्ने छ ।

आयोगको यसअघि बसेको बैठकले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अन्तर्गत राजनीतिक दलहरुले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेस गर्नु पर्नेछ ।

उम्मेदवारको बन्दसूचीबारे आयोगले असोज २२ मा सूचना प्रकाशन गर्ने कार्यसूची छ भने कात्तिक ९ गते बन्दसूचीको अन्तिम प्रकाशन गर्ने आयोगले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु