भदौ १६, दमक ।

भापाको कमल ६ मा प्रादेशिक आयुर्वेद अस्पतालको उद्घाटन भएको छ ।
कमल गाउँपालिका ६ मा निर्माण भएको अस्पतालको उद्घाटन प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव र कृषि मन्त्री झलकबहादुर दर्लामीले बुधबार संयुक्त रूपमा गरेका हुन् ।
अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले अस्पताल पूर्ण रूपमा सञ्चालनमा ल्याउने र व्यवस्थापनका लागि कुनै कमी हुन नदिने बताए । पुरानो एवम् वैदिक उपचार पद्धतिको अनुसरण गर्दै हरेक प्रकारका रोगी बिरामीहरूको उपचार यस अस्पतालमा उपलब्ध गराइने यादवको भनाइ थियो ।
प्रदेश १ का कृषि मन्त्री झलकबहादुर दर्लामीले स्वास्थ्यको क्षेत्रमा यो एउटा राम्रो काम भएको बताएका छन् । आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य क्षेत्रमा यसले नयाँ आयाम ल्याउनेसमेत दर्लामीले दावी गरे ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा कमल ६ मा ५० शैय्याको प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनका लागि २ करोड ५६ लाख बजेट विनियोजन गरेको छ । आयुर्वेद, होमियोप्याथी, प्राकृतिक चिकित्सा एवम् अन्य वैकल्पिक चिकित्सा सेवा एकीकृत तथा एकद्वारा प्रणालीबाट उपलब्ध गराउने उद्देश्य रहेको बताइएको छ ।
अस्पतालले आज बिहीबारदेखि ओपीडी सहितका सेवाहरू सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ । आयुर्वेदिक चिकित्सा सम्बन्धि स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले स्थापना गरिएको प्रादेशिक अस्पतालको भौतिक संरचना २० करोड ६३ लाख रुपैयाँको लागतमा निर्माण भएको हो ।
तीन तले सुविधा सम्पन्न भवनमा छुट्टै बहिरङ्ग कक्षदेखि आयुर्वेदिक पद्धतिबाटै एक्स–रे, सघन उपचार कक्ष, एन आइसियु जस्ता आवश्यक कक्षहरू समेत बनाइएको छ । प्रसूति सेवा कक्ष पनि निर्माण गरिएको छ ।
२०७५ असार ३१ गते भवन निर्माणका लागि सम्झौता भएकोमा २०७८ असार २५ गते भवनको निर्माण सम्पन्न भएको थियो । अस्पताल करिब स्थानीय जग्गा दाताहरूले दिएको २ बिगाहा १ धुर क्षेत्रफलमा फैलिएको छ ।

