adv

बाह्र दुर्वासाले निर्माण गरेको तेह्रौं दुर्वासा

दीपा दाहाल
१६ भदौ, दमक ।

’12 angry men’
1957 तिरको American court room drama जसलाई नेपालीमा ‘१२ दुर्वासा’ नाम दिएर असोज १० गतेबाट दमकस्थित कदम थिएटरमा मञ्चन भैरहेको छ ।
थिएटर भित्र पस्ने बेला मात्रै थाहा पाएं, नाटक झन्डै दुई घन्टा लामो छ । नाटकले तानेन भने एक घन्टा नै प्रसस्त हुन्छ । ओहो ! दुई घन्टाको नाटक !
मञ्च बीचमा रहेछ । अहिलेसम्म नदेखेको हलको डिजाइनले अझ हैरान बनायो । बीचमा एउटा टेबल र बाह्र वटा कुर्सी बाहेक केहि छैन । कलाकार बाह्र जना नामैले थाहा भैहाल्यो । तिनले कुर्सीमा बसेर के अभिनय गर्लान्, कसरी दर्शकलाई बाँध्लान् ? मनमा औडाहा हुनथाल्यो । नाटकको सुरुवातै रेकर्डेड आवाजबाट हुन्छ जसले खासै ध्यान खिच्दैन । पहिलो गासमै ढुंगा !
पात्रहरु आआफ्नै तरिकाले मञ्चमा प्रवेश गर्छन् ।
एउटा बुढो व्यक्तिको हत्या भएको छ र हत्याको अभियोग उसको १८ वर्षे छोरोलाई लागेको छ । छोरोलाई दोषी वा निर्दोष करार गर्ने जिम्मा ती बाह्र जनाको हो तर जे निर्णय गरेपनि सहमति अनिवार्य शर्त हो ।
कथा विस्तारै रोचक लाग्न थाल्छ । कथाभित्र पसिसकेपछि आफु तेर्ह्रौ दुर्वासा बनिन्छ । बाह्र जनाले गर्न नसकेका तर्क फ्याट्ट भनिहाल्न मन लाग्छ । कतिबेला प्वाक्क बोलिने हो भनेर आफुलाई सम्हाल्नको सास्ति ! कलाकारहरुको दमदार अभिनय तथा नाटकको विषयवस्तुले दिमागलाई एकोहोर्याउने मात्रै होइन आफैलाई एउटा पात्र बनाइदिन सक्छ, यो नाटकको सफलता हो ।
नाटकमा जवानदेखि पाका, अनुभवीदेखि पहिलो पटक डेब्यु गरेका सम्मका कलाकारको अभिनय हेर्न सकिन्छ ।
नाटकको पृष्ठभूमि, समय, उद्देश्य भिन्न भएपनि हामीले हेर्दा वा पढ्दा आफ्नो समय, रुचि, स्वाद, चेतका साथ हेरिदो, बुझिदो रहेछ ।
बारम्बार मलाई नाटककमा पात्रको विविधता खड्किरह्यो । एकजना मधेसि लवजका पात्रले फरक स्वाद दिलाए पनि अधिकांश आर्य समुदायका कलाकार हुनु, भएका जनजाति कलाकारबाट समेत अपेक्षाकृत रुपमा मातृ ‘टोन’ नआउदा केहि खल्लो महसुस भयो।
समग्रमा नाटक राम्रो बनेको छ । कुनैपनि निर्णय लिनका निम्ति हामीलाई आफ्ना आग्रह, पुर्वाग्रहले कसरी प्रभाव पारेका हुन्छन भनेर बुझ्न पनि नाटक हेर्नुहोला । अग्रज कलाकारको सम्मान र नयांलाई प्रोत्साहन गर्न पनि नाटक पक्कै हेर्नुहोला । निर्देशकको लगाव, मेहेनत र निर्माणाधिन भवनको गतिरोध हेर्न पनि नाटक हेर्न जानुहोला ।
हेरेपछि थप कुराकानी गरम है !

दीपा दाहालको फेसबुक वालबाट साभार ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु