२१ भदौ, दमक ।

फोनिजमा आबद्ध पत्रकारहरुले आदिवासी जनजातिको माग मुद्दामा निरन्तर पैरवी गर्नुपर्ने आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले बताएका छन् ।
आदिवासी माग मुद्दाको सवालमा समुदायलाई पुनः जागृत गर्नेबेला आएको भन्दै अध्यक्ष थापामगरले फोनिजकर्मी पत्रकारहरुले यस बारे बढी पहल गर्नुपर्नेमा जोड दिएका हुन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले सोमबार आयोगको सभाहलमा आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै उनले भने –‘आयोग कानुन र ऐनद्वारा बाँधिएको छ, त्यसमा सीमाभित्र रहेर मात्र काम गर्न पाइन्छ, संवैधानिक निकाय भए पनि कार्यकारी निकाय होइन ।’
नेपालको समाजिक संरचना नै विविध समाज र जातीय समुदायबाट निर्माण भएको भन्दै थापामगरले आदिवासी जनजातिको सवाल र मुद्दा कहिल्यै समाप्त नहुने जिकिर गरे ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का उपाध्यक्ष युवराज जिरेलले आदिवासीहरुबीचको एकता र सामूहिकताको भावनाले काम गर्न आवश्यक रहेकोमा जोड दिए । उनले महासंघ एक्लैको पहलले मात्र समस्या समाधान नहुने भन्दै जागरूक सबै आदिवासीजन्य संघसंस्थाका प्रतिनिधिहरूलाई आफ्नो सवालमा अग्रसर हुन आह्वान गरे ।
कार्यक्रममा बोल्दै आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष चिनीमाया माझीले आदिवासी जनजातिको माग मुद्दामा नेपाली मिडिया सकारात्मक नभएको टिप्पणी गरिन् । दूरदराजका आदिवासीको अधिकारबारेमा फोनिजमा आबद्ध पत्रकार र मिडियाकर्मीले कलम चलाएर सहयोग गर्नुपर्ने उनको सुझाव थियो ।
सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवार, थारु कार्यकारिणी सभा (थाकस) का केन्द्रीय सदस्य नेमसिंह थारु, याक्थुङ चुम्लुङकी महासचिव निरन्ती लिम्बूलगायत आदिवासी सुखवीर थामी, गंगा छन्त्याल, पदमबहादुर पुन, लील ऐजु, ज्ञानेन्द्र पुनमगर, मोहन गोलेले धारणा राखेका थिए ।
फोनिजका तफृबाट अध्यक्ष गजुरधन राई, वरिष्ठ उपाध्यक्ष लक्की चौधरीलगायतले आदिवासी जनजातिको मुद्दा र मिडियाको भूमिकाका विषयमा बोलेका थिए ।

