adv

साफ महिला च्याम्पियनसिपमा नेपालद्वारा भुटानमाथि ४–० को फराकिलो जित


काठमाडौं ,२१ भदौ ।
छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपको उदघाटन खेलमा नेपालले भुटानमाथि ४–० को फराकिलो जित हात पारेको छ ।

नेपाललाई जिताउन सावित्राले दुवै हाफमा गोल गरिन् । यस्तै अनिता बस्नेतले दोस्रो हाफमा दुई गोल थपिन् । राष्ट्रिय टिममा पुनरागमन गरेकी सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरेपछि नेपालले १–० को अग्रता बनाएको थियो ।

यसै खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेकी फरवार्ड अमिसा कार्कीको पासमा सावित्राले १२ मिनेटमा गोल गरेकी हुन् । उनले झण्डै तीन वर्षपछि राष्ट्रिय टिमबाट खेल्दै गोल पनि गरिन् ।

गतवर्ष घुँडाको चोटका कारण सावित्राले घरेलु मैदानमा बंगलादेश विरुद्धको दुई मैत्रीपूर्ण खेल र उज्वेकिस्तानमा भएको एएफसी एसियन कप छनोटको दुई खेल गुमाएकी थिइन् ।

ठूलो वर्षाका कारण मैदानमा पानी जम्दा पहिलो हाफमा नेपालले थप गोल गर्न सकेन । दशौं मिनेटमा हिरा कसमारी भुजेलले बक्स बाहिरबाट हानेको प्रहार पोष्टमा लागेर फर्किएको थियो ।

साफमा भुटान तुलानात्मक रुपमा कमजोर टिम भए पनि १२ दिनअघि नै नेपाल आएर तयारी गरेको थियो । भुटानले पनि पहिलो हाफमा गोल गर्नै एउटा अवसर गुमायो ।

३६ मिनेटमा पुनम जर्घामगरले लुज गरेको बलमा भुटानकी कप्तान पेमा छोडेन तामाङको क्रसमा सुनिता राईले पोष्टमा प्रहार गर्न सकिनन् र बल बाहिरियो ।

पानी रोकिएपछि सुरु भएको दोस्रो हाफको सुरुवातदेखि नै नेपालले भुटानमाथि दबाब बनायो । दोस्रो हाफको दोस्रो मिनेटमा सुरु लिम्बुको पासमा दिपा शाहीले बक्स बाहिरबाट हानेको प्रहार पोष्टमाथिबाट बाहिरियो ।

५७ मिनेटमा सावित्रा भण्डारीले गोल गर्ने अवसर गुमाइन् । अनिता बस्नेतको क्रसमा बक्स भित्र रहेकी सावित्राले बललाई पोष्टको दिशा दिन सकिनन् ।

६८ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । रेखा पौडेलले दिएको पासमा सावित्राले बल अगाडी बढाउँदै भुटानी गोलकिपरसँग वान भर्सेस वानमा गोल गरेकी हुन् । ७३ औं मिनेटमा अनिता बस्नेतले तीन खेलाडीलाई छलाउँदै बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै नेपालको अग्रता ३–० बनाइन् ।

८४ मिनेटमा अनिता बस्नेतले व्यक्तिगत दोस्रो गोल गरिन् । अनिता केसीको क्रस भुटानी किपरलाई छोएर फर्केको बलमा अनिता बस्नेतले गोल गरेकी हुन् । नेपालले समूहको अन्तिम खेल आगामी सोमबार श्रीलंकाविरुद्ध खेल्नेछ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु