८ असोज, दमक ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालले स्वतन्त्र उम्मेदवारको हाउगुजीलाई राजनीतिक दलका कार्यकर्ताहरुले चिर्नु पर्ने बताएकी छन् ।
एमाले जिल्ला कमिटी झापाको जनसंगठन परिचालन सयन्त्रले शुक्रबार विर्तामोडमा सम्पन्न जनसंगठनका अध्यक्ष तथा इन्चार्जहरुको भेलालाई सम्वोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य वरालले स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन जित्दैमा सरकार नबन्ने र उनीहरु अधिकार सम्पन्न नुहने बताएकी हुन् ।
सम्बोधनका क्रममा बरालले भनिन् –‘सर्वसाधारणलाई यी कुरा बुझाउदै स्वतन्त्र प्रतिको भ्रम चिर्नु पर्दछ ।’
वर्तमान संविधान अनुसार दलहरु मध्येबाट जसले धेरै स्थान जित्छ त्यही पार्टीको संसदीय दलको नेता प्रधानमन्त्री बन्ने शासन ब्यवस्था रहेको भन्दै नेतृ बरालले स्वतन्त्रले जितिहाले पनि उनीहरुको हैसियत स्वतन्त्रको सांसदको रूपमा रहने जिकिर गरिन् ।
मंसिर ४ गतेको निर्वाचनमा स्वतन्त्रले मात्र निर्वाचन जितेमा देश विकासमा क्षेयीकरण हुने भन्दै उनले चुनावी नतिजा एमालेको हतामा पार्न गाउँ–गाउँमा पुगेर पेरित गर्न कार्यकर्तालाई आह्वान गरिन् ।
भेलालाई सम्बोधन गर्दै एमाले झापा जिल्ला अध्यक्ष दिपक कार्कीले कार्यकर्ताहरमा ठूला नेताको वरीपरी घुम्ने सेल्फी खिच्ने, पोष्ट गरेर भाइरल बन्ने जस्ता विकृति मौलाइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
कार्कीले भने –‘हामी अहिले चुनावमा छौं । हाम्रो मुख्य काम जनताको घरदैलोमा पुग्नु नै हो ।’
एमाले जिल्ला उपसचिव तथा जनसंगठन संयन्त्रका संयोजक असारु राजवंशीको अध्यक्षतामा सम्पन्न भेलामा झापा जिल्लाभित्र रहेका पार्टीका २३ जनसंगठनले गरेको गतिविधिको रिपोटिङ, समस्या र भावी योजना लगायतका विषयमा छलफल भएको जिल्ला सदस्य मनोज ताम्ली लिम्बूले जानकारी दिए ।