adv

उम्मेद्वारले पालना नगर्ने ‘निर्वाचन आयोगको खर्च सीमा’

सीमा लाखमा सीमित, खर्च करोड माथि पनि असीमित

१६ असोज, दमक ।


आगमी मंसिर ४ गते हुने प्रतिनिधि सभा (संघीय संसद्) र प्रदेश सभा निर्वाचनका उम्मेद्वारहरुले कति कति खर्च गर्लान् ? यो विषय अनुत्तरित छ । बिगतका अभ्यासहरु हेर्दा दलका उम्मेद्वारदेखि स्वतन्त्रतर्फबाट उम्मेद्वारी दिएकाहरुले पनि मनग्गे खर्च गर्ने गरेका छन् ।

निर्वाचन आयोगले सबै निर्वाचनमा उम्मेद्वारले खर्च गर्न पाउने सीमा तोकिदिएको हुन्छ । तर, त्यसको पालना भने दलीय वा स्वतन्त्र उम्मेद्वारहरुले गरेका खासै पाइँदैन । आयोगले लाखमा सीमित गरेको निर्वाचनमा गर्न पाउने खर्चको सीमा उल्लंघनमा ठूला दलका जिम्मेवार नेताहरु नै संलग्न हुने गरेका छन् । उनीहरुले करोडौं रकम निर्वाचनमा खर्च गरेको आफै सार्वजनिक मञ्चहरुबाट बोल्दै आएका छन् ।

यस पटक पनि आयोगले आउन लागेको निर्वाचनमा उम्मेद्वारहरुले गर्न पाउने खर्चको सीमा तोकेको छ । तर, यसलाई कानुनी औपचारिकता मात्रै मानिएको छ ।

निर्वाचनमा उम्मेद्वारहरुले गर्ने भोजभत्तेरदेखि गाडी, घोँडा, कार्यकर्ता परिचालन र खानपिन, नगददेखि जिन्सी सामग्रीको वितरण आदिको खर्च जोड्ने हो भने आयोगको निर्देशन उम्मेद्वारहरुले मानेको देखिँदैन ।

यद्यपि कानुनी प्रावधान पूरा गर्न आयोगले मतदाता संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा क्षेत्रअनुसार उम्मेद्वारले खर्च गर्न पाउने सीमा निर्धारण गरेको हो ।

आयोगको निर्णयअनुसार सब भन्दा कम काठमाडौंका ५ वटा निर्वाचन क्षेत्रका उम्मेद्वारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउने छन् । यसमा काठमाडौं १, ३, ६, ७ र क्षेत्र नम्बर ८ पर्छन् ।

त्यस्तै अन्य १७ वटा निर्वाचन क्षेत्रका उम्मेद्वारले अधिकतम २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले निर्णय गरेको हो । यी निर्वाचन क्षेत्रमा तेह्रथुम, पर्सा १, २ र ३, रसुवा, काठमाडौं २, ४, ५, ९ र १० भक्तपुर २, ललितपुर २ र ३, मनाङ, कास्की २ र रुकुम पूर्व पर्छन् ।

आयोगका अनुसार थप ६५ वटा निर्वाचन क्षेत्रका उम्मेद्वारका लागि अधिकत २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउने बाटो खुल्ला छ ।

यस सूचीमा झापा १ र ४ , मोरङ ४, ५ र ६, सुनसरी ३ र ४, उदयपुर २, सप्तरी २, ३ र ४, सिराहा १, २, ३ र ४, धनुषा १,२,३ र ४, महोत्तरी १, २, ३ र ४, सर्लाही २ र ४, रौतहट १, २, ३ र ४, बारा २, ३ र ४, पर्सा ४, नुवाकोट २, भक्तपुर १, चितवन २, गोरखा २, कास्की १, स्याङ्जा २, मुस्ताङ, बाग्लुङ २, गुल्मी २, पाल्पा १ र २, रुपन्देही २, ३ र ४, कपिलवस्तु ३, बाँके २ र ३, नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ र २, दैलेख १ र २, अछाम १ र २, कैलाली १, २, ३ र ५, कञ्चनपुर १, २ र ३ पर्छन् ।

त्यस्तै ५२ वटा निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेद्वारहरुका लागि ३१ लाख रुपैयाँसम्म चुनावमा खर्च गर्न आयोगले छुट दिएको छ ।

जसमा इलाम १ र २, झापा २, ३ र ५, भोजपुर, धनकुटा, मोरङ १, २ र ३, सुनसरी १ र २, ओखलढुंगा, उदयपुर १, सर्लाही १ र ३, बारा १, सिन्धुली १ र २, धादिङ १ र २, नुवाकोट १, सिन्धुपाल्चोक १ र २, चितवन १ र ३, कास्की ३, तनहुँ २, स्याङ्जा १, नवलपरासी बर्दघाट सुस्ता पूर्व १ र २, म्याग्दी १, पर्वत १, गुल्मी १, रुपन्देही १ र ५, कपिलवस्तु १ र २, दाङ २ र ३, बाँके १, मुगु, जुम्ला, कालीकोट, सुर्खेत १ र २, रुकुम पश्चिम, बाजुरा, कैलाली ४, दार्चुला र डडेलधुरा रहेका छन् ।

बाँकी २६ निर्वाचन क्षेत्रका उम्मेद्वारहरुले भने सबै भन्दा धेरै ३३ लाख रुपैयाँसम्म चुनावी खर्च गर्न पाउने भएका छन् ।

तप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, काभ्रे १ र २, मकवानपुर १ र २, गोरखा १, लमजुङ, अर्घाखाँची, रोल्पा, प्युठान, दाङ १, बर्दिया १ र २, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडीका उम्मेदवारले ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका हुन् ।

 

आयोगले प्रदेश सभा निर्वाचनका लागि बेग्लै अनुसूची कायम गरेर अनुसूची १ बमोजिम ७० वटा निर्वाचन क्षेत्रका उम्मेद्वारलाई १५ लाखसम्म खर्च गर्न दिने निर्णय गरेको छ ।

त्यस्तै अनुसूची २ मा परेका १४३ निर्वाचन क्षेत्रका उम्मेद्वारलाई १७ लाखसम्म खर्च गर्ने अनुमति आयोगले दिएको छ ।

त्यस्तै अनुसूची ३ मा परेका ५६ वटा निर्वाचन क्षेत्रका उम्मेद्वारले १९ लाखसम्म, अनुसूची ४ मा परेका २९ वटा निर्वाचन क्षेत्रका उम्मेद्वारले २१ लाखसम्म र अनुसूची ५ मा परेका ३२ वटा निर्वाचन क्षेत्रका उम्मेद्वारले अधिकतम २३ लाखसम्म खर्च गर्न पाउने आयोगको निर्णयमा उल्लेख छ ।

आयोगले समानुपातिकको हकमा भने दलहरुले पेश गरेको बन्दसूचीमा सूचिकृत संख्याअनुसार प्रति उमम्मेदवार २ लाख खर्च गर्न पाउने निर्णय गरेको छ ।

प्रदेशसभाका समानुपातिक उम्मेदवारहरुको हकमा १ लाख ५० हजार चुनाव खर्च निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति :

निर्वाचन खर्च

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु