१६ असोज, दमक (बिबिसीको सहयोगमा)
इन्डोनेसियामा फुटबल खेलका बेला हुलदंगा र भागदौड मच्चिएपछि कम्तिमा १ सय ७४ जनाको ज्यान गएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार फुटबल खेल चलिरहेका बेला हुलदंगा भएको र दंगा नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गर्दा भागदौड मच्चिँदा सो संख्यामा मानिसहरुको मृत्यु भएको हो ।
त्यहाँस्थित अरेमा एफसी आफ्नो प्रतिद्वन्द्वी पर्सिबाया सुरेबायासँग पूर्वी जाभामा पराजित भएको एउटा खेलपछि भएको भागदौडमा थप करिब १ सय ८० जना घाइते भएका समाचारमा जनाइएको छ ।
निर्धारित समयको खेल सकिएर सिट्ठी बजेपछि फुटबल समर्थकहरू मैदानमा प्रवेश गर्न थालेपछि प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरेको बताइएको छ ।
पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टाले दिएको जानकारी अनुसार समर्थकहरु मैदानमा प्रवेश गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । ग्यासप्रहारपछिको भागदौडमा मानिसहरु निस्सासिएर मरेका हुन् । प्रहरीका अनुसार मृत्यु हुनेमा २ जना प्रहरी पनि छन् ।
मृतकमध्ये ३४ जनाको रङ्गशाला भित्रै निधन भएको बताइएको छ । खेल सकिएपछि मैदान छिरेका मध्ये करिब ३ हजार मानिसले हिंसात्मक गतिविधि गर्दै प्रहरीमाथि समेत जाई लागेका बताइएको छ ।
इन्डोनेसियाका प्रमुख सुरक्षा मन्त्रीले ४० हजार मानिस अटाउने उक्त रङ्गशालामा क्षमताभन्दा बढी मानिस रहेका बताएका छन् ।
फुटबल संघ के भन्छ ?
इन्डोनेसियाको फुटबल सङ्घले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।
इन्डोनेशियाको फुटबल एसोसिएशनले शनिबार राति विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति दुख व्यक्त गरेको छ र सो विषयबारे अनुसन्धानका लागि एउटा टोली मलंग पठाएको उल्लेख गरेको छ ।
यो घटनापछि अरेमा एफसीमाथि यो सीजनभरलाई प्रतिबन्ध लगाइएको छ ।
इन्डोनेसियामा पहिला पनि फुटबल म्याचको समयमा विभिन्न क्लबका समर्थकहरूबीच हिंस्रक टकराव देखा पर्ने गर्छ ।
रंगशालामा कस्ता कस्ता घटना भएका छन् ?
सन् १९६४ मा लिमामा पेरु र अर्जेन्टिनाबीच भएको ओलिम्पिक छनौट खेलमा भाग दौड मच्चिँदा ३२० जनाको ज्यान गएको थियो भने एक हजार भन्दा बढी घाइते भएका थिए ।
सन् १९८५ मा लिभरपुल र युभेन्ट्सबीच युरोपियन कप फाइनल चलिरहँदा एउटा पर्खाल भत्किँदा त्यसले थिचिएर बस्रल्सस्थित एउटा रङ्गशालामा ३९ जनाको निधन भएको थियो। त्यसबेला ६०० जना घाइते भएका थिए ।
सन् १९८९ मा यूकेमा एफए कपको सेमिफाइनलको समयमा सेफिल्डस्थित एउटा रङ्गशालामा भागदौडको परिस्थिति निम्तिँदा ९७ जना लिभरपुल समर्थकहरूले ज्यान गुमाएका थिए ।