२७ असोज, दमक ।

आ–आफ्नो राजनीतिक अडान कायमै राखेर पनि चुनावी तालमेल र सहकार्य गर्न सकिने जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दावी गरेका छन् ।
हालसालै अनलाइन खबरसँगको अन्तर्वार्तामा बोल्दै जसपा अध्यक्ष यादवले यस्तो दावी गरेका हुन् ।
कांग्रेससहितको सत्ता गठबन्धन किन छाडेको त ? भन्ने प्रश्नमा यादवले भने –‘गठबन्धनभित्रै कांग्रेसबाट स्थानीय चुनावमा हामीलाई धोका भयो । हाम्रा उम्मेद्वारहरुलाई कांग्रेसको तर्फबाट मत आएन ।’
जसपाबाट महन्थ ठाकुरहरु आफै भागेको आरोप लगाउँदै यादवले राजनीतिमा कसैले कसैलाई निषेध गर्न नसकिने भन्दै फेरि पनि आवश्यकता अनुसार ठाकुर नेतृत्वको तोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग सहकार्य हुन सक्ने स्पष्ट पारे ।
एमाले र जसपाबीच एक आपसमा ३४ र १७ सिटमा एकले अर्कालाई सघाउने सहमति भएको भन्दै यादवले बाँकी निर्वाचन क्षेत्रहरुमा आमने–समामने चुनाव लडिने बताए ।
निर्वाचनमा तालमेल गर्दैमा जसपा र एमालेले एकअर्काको सैद्धान्तिक र वैचारिक मान्यता परिवर्तन गर्न आवश्यक नहुने भन्दै उनले आ–आफ्नै विचार कायम राखेर निर्वाचन पछि पनि सहकार्यको सम्भावना रहने दावी गरे ।
सिके राउतको जनमत पार्टीले दिएको चुनौतीलाई सामान्य मान्नु पर्ने भन्दै यादवले सिके राउत एउटा सामान्य शक्ति मात्रै भएको जिकिर गरे ।
आफ्नो जन्मभूमि र पछाडि परेको जिल्ला भएकाले मात्रै आफूले सप्तरी जिल्लाबाट निर्वाचन लड्ने निचोडमा पुगेको भन्दै यादवले भने –‘मेरो हकमा सिराहा, सुन्सरी, मोरङ सबै ठाउँका जनताले माया नै गर्नुभएको छ ।’
मधेस आन्दोलनकै कारण मुलुकमा समावेशी अधिकारको ग्यारेन्टी भएको दावी गर्दै यादवले मधेसको पहिचान स्थापित भएको र समग्रमा खसआर्य, जनजाति, मधेसी, दलित, महिला, पछाडि पारिएको क्षेत्रलगायतको प्रतिनिधित्व सुनिश्चत गरिएको जिकिर गरे ।
संघीयताका विरुद्ध भ्रामक प्रचार गरिएको आरोप लगाउँदै उनले जनस्तरमा स्थापित अधिकारका कारण केही पक्षलाई असहज हुँदा संघीयताको विरोध भएको बताए ।
यादवले भने –‘कम्जोरी संविधानमा छ । दिइएको अधिकार पनि कानुन बनाएर कार्यान्वयन गर्न दिइएको छैन । प्रदेश सरकार भएपछि उसको कर्मचारी तन्त्र खै ? प्रहरी खै ? संघ सरकारले प्रदेशलाई अधिकार सम्पन्न बनाउन नसकेका कारण समस्या भएको हो ।’
अधिकार अभावका बीच कोरोनाकाल र अन्य समायमा प्रदेशहरुले राम्रो काम गरेको यादवले दावी गरे ।
आफूहरुको नेतृत्वमा सरकार बनेको नभइ सरकारमा सहयोगीका रूपमा सहभागी भएको जिकिर गर्दै अध्यक्ष यादवले सरकार गठनका समयमा बनेका साझा कार्यक्रमहरु कार्यान्वय नभएको स्पष्ट पारे ।
उनले भने –‘परिणाम दिने त सरकारको नेतृत्व गर्ने दलले हो । हामीले त सरकारमा हुँदा, सदनबाट र सडकबाट पनि बारम्बार विषय उठाएका हौं । तर सरकारको नेतृत्व गर्ने दलहरु संघीयताप्रति अनुदार भएका कारण हमीले उठान गरेका विषयमा इमान्दार भएनन् ।’
जसपाको स्थिति बिगतको भन्दा बलियो हुने दावी गर्दै उनले सिट संख्या र जनमतमा समेत बृद्धि हुने दावी गरे ।

