adv

जसपा नेता रकम चेम्जोङ चुनावी अभियानमा व्यस्त

२८ असोज, दमक ।


धनकुटा जिल्लाबाट संघीय संसद् अर्थात प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेद्वार बन्ने चर्चा चले पनि अन्ततः सोही जिल्लाको प्रदेश सभा (क)बाट उम्मेद्वारी दिएका छन् जनता समाजवादी पार्टी नेपाल (जसपा)का प्रभावशाली नेता रकम चेम्जोङले ।

पाँच दलीय सत्ता गठबन्धनको टिकट वितरण कार्यदलमा रहेर समेत काम गरेका नेता चेम्जोङ अन्ततः जसपाले सत्ता गठबन्धन छोडेर प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेसँगै धनकुटाको प्रदेश सभा निर्वाचन क्षेत्र (क)बाट उम्मेद्वार बनेका हुन् ।

एमाले र जसपाबीच एकले अर्कोलाई ३४ र १७ वटा निर्वाचन क्षेत्रमा सघाउने तालमेल गरिएको भए तापनि धनकुटामा भने यो तालमेल कायम छैन ।

तर पनि चेम्जोङले भने जसपाको एकल प्रयासबाटै चुनाव जित्ने अठोटका साथ उम्मेद्वारी दिएका हुन् ।

यतिबेला चुनावी अभियानमा व्यस्त नेता चेम्जोङले आफू संघबाट प्रदेशमा आएर चुनाव उठ्नुपरेको कारण बारे आफ्नो फेसबुक पेजमा यस्तो लेखेका छन् –
‘अरुका उम्मेद्वारी चुनाव जित्नको लागि हो भने मेरो उम्मेद्वारी संघीयतालाई संस्थागत गर्दै धनकुटाको समृद्धि र बिकाशका लागि हो ।
आउदो मंसिर ४ गते चुनाव चिन्ह ‘छाता मा मतदान गरि बिजय गराउन हार्दिक अनुरोध गर्दछु ।’

पूर्व शान्तिमन्त्रीसमेत रहेका उनलाई धनकुटाको विकासका लागि मरिमेट्ने नेताका रूपमा चिनिन्छ ।

१० वर्षे द्वन्द्वको समयमा धनकुटा जिल्लाका अधिकांश सरकारी कार्यालयहरु, विद्यालय, प्रहरी चौकी, स्वास्थ्य चौकीहरुमा क्षति पुगेको थियो भने कतिपय पुनःनिर्माण गर्नुपर्ने अवस्थामा पुगेका थिए । चेम्जोङ आफू शान्तिमन्त्री भएका बेला त्यस्ता थुप्रै संरचनाहरु नयाँ रूपमा निर्माण भएको स्मरण गर्छन् ।

हरप्रहर न्यूजसँगको संक्षिप्त कुराकानीमा उनले भने –‘नेपालको संघीय संरचनालाई पूर्णता दिएर पहिचान, अधिकार र समावेशी समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्दै धनकुटालाई विकासको पथमा अघि बढाउन मेरो उम्मेद्वारी हो ।’

आफूले चुनावी भेटघाट सुरु गरिसकेको जानकारी दिँदै नेता चेम्जोङले मतदाताहरुसँगको अन्तरक्रियाबाट थप उत्साहित भएको बताएका छन् ।

धनकुटामा सत्ता गठबन्धनतर्फबाट कांग्रेसका पूर्वमन्त्री सुनिलकुमार थापा, एमालेबाट राजेन्द्रकुमार राई, माओवादी परित्याग गरेका हेमराज भण्डारी संघमा प्रत्यक्षतर्फ उम्मेद्वार छन् । अन्य साना दल र स्वतन्त्रले पनि प्रतिनिधिसभातर्फ उम्मेद्वारी दिएका छन् ।

प्रदेशसभा (क) मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष अर्जुन राई र प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रको प्रदेश सदस्य रहेकी कुशुमकुमारी श्रेष्ठले उम्मेद्वार छिन् ।

त्यस्तै एमालेका तर्फबाट प्रदेशसभा (क) मा निरनकुमार राई र (ख) मा इन्द्रमणि पराजुली उम्मेद्वार छन् । जसपा प्रदेश (ख) मा डम्बर कटुवाल उम्मेद्वार छन् ।

प्रदेशतर्फ (क) र (ख) मा पनि लिम्बुवान, जनमुक्ति, मंगोललगायत दल र स्वतन्त्रतर्फका उम्मेद्वार रहेका छन् ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु