adv

चुनावी अभियानमा अशोक राई

मतदाताका कुरा सुन्दै, जावाफ दिँदै

२९ असोज, धरान ।


नेकपा एमाले र जसपाबीच चुनावी तालमेलपछि सुनसरी १ बाट साझा उम्मेद्वारका रूपमा अघि सारिएका नेता उम्मेद्वार हुन् जनता समाजवादी पार्टी, नेपाल (जसपा)का संघीय परिषद् अध्यक्ष अशोककुमार राई ।

यतिबेला निर्वाचन अभियान तीव्र गतिमा हाँकिरहेका नेता राईको दैनिकी चुनावी गतिविधिहरुमा बितिरहेको छ । मतदातालाई भेट्ने, उनीहरुका समस्या सुन्ने, कसैले केही प्रश्न उठाइहाले धैर्यताका साथ सुन्ने र चित्तबुझ्दो जावाफ दिने ।

‘दैनिकजसो राजनीतिक भेटघाट, चुनावी भेला, सभाहरुमा उहाँको समय बितिरहेको छ’, राईको सचिवालय भन्छ ।

चुनावी अभियानअन्तर्गत शुक्रबार धरानमा आयोजित पत्रकार सम्मेलनमा उनलाई थुप्रै प्रश्नहरु सोधिए ।

जिज्ञासाहरुको जवाफ दिँदै सुनसरी १ का प्रतिनिधि सभा उम्मेद्वार एवम् जसपा संघीय परिषद् अध्यक्ष राईले भने –‘राष्ट्रिय राजनीतिको वस्तुगत अवस्थालाई ध्यानमा राखेर नै पार्टीले निर्णय गर्ने गर्छ । अहिलेको राष्ट्रिय राजनीतिमा एमाले र जसपाले सहकार्य गर्नुपर्ने आवश्यकता देखापरेको हुँदा हामीले समिकरण बनाएका हौं । र, यसलाई दीर्घकालसम्म नै लैजाने घोषणा गरेका छौं । यो काम सहमतिकै आधारमा गरिएको हो ।’

उनले आफू उम्मेद्वार भएको क्षेत्र एमालेको सघन जनमत भएकै ठाउँ हो भन्नेमा स्पष्ट रहेको जवाफ दिँदै सुनसरीको अन्य क्षेत्रमा पनि जसपाले विजय हाँसिल गरिसकेका र सघन जनमत रहेका र निर्वाचन क्षेत्रहरुमा एमालेलाई सघाउने सहमति भएको स्ष्पट पारेका थिए ।

नेता राई आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना दैनिक राजनीतिक गतिविधिहरु सार्वजनिक गरिरहेका छन् । एमालेसँगको चुनावी तालमेलपछि निक्कै उत्साहित देखिएका अशोक राईलाई जिताउन एमाले पंक्ती पनि एकढिक्का देखिएको छ ।

यस पटक सुनसरी १ बाट कुनै पनि हालतमा अशोक राईलाई जिताउने अठोटका साथ जसपाले एमालेसँग मिलेर मिहिन चुनावी रणनीति बुनिरहेको जसपा धरान उपमहानगरका नेता सुमन चेम्जोङ बताउँछन् ।

दैनिकजसो आयोजना भइरहेका चुनावी प्रचारका कार्यक्रमहरुमा राईसहित सुनसरी १ को प्रदेश सभा (क) र (ख) मा एमालेतर्फबाट उठाइएका उम्मेद्वारहरु क्रमशः रमेशकुमार बस्नेत र विजय राईसहित एमाले नेता कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहँदै आएको छ ।

नेकपा एमालेका नेता एवम् पूर्व सांसद जयकुमार राईले साझा उम्मेद्वारका रूपमा अशोककुमार राईलाई अघि बढाउने पार्टी केन्द्रीय समितिको निर्णय भएकाले पार्टीको निर्णय अक्षरस कार्यान्वयन गरिने बताइसकेका छन् ।

एमाले प्रदेश कमिटी सदस्यसहेत रहेका उनी बाम गठन्धनको साझा उम्मेद्वारका रूपमा अघिल्लो निर्वाचनमा विजयी भएका थिए । यस पटक पनि एमालेबाट सांस्को उम्मेद्वारका लागि सर्वसम्त प्रस्तावित भएका थिए ।

नेता राईले एमाले–जसपा तालमेलबारे भनेका छन् –‘यो राष्ट्रिय आवश्यकता हो । यो कुनै एक जना व्यक्तिलाई माननीय बनाउन मात्रै हामीले गठबन्धन गरेको होइन । देश र जनताको निम्ति नेकपा एमालेले अघि सारेका महत्त्वपूर्ण योजनाहरु कार्यान्वयनका लागि एमालेकै नेतृत्वमा सरकार बनाउनु पर्ने भएकाले र अर्कोतिर रहेको गठबन्धनसँग एमाले एक्लैको सामथ्र्य नपुग्ने भएकाले आवश्यकताका आधारमा यो गठबन्धन गरिएको हो ।’

अशोक राईलाई छाता चिन्हमा र विजय राई र रमेशकुमार बस्नेतलाई सूर्य चिन्हमा मत दिन उनले आग्रह गरेका छन् ।

धरान उपमहानगरपालिकाकी पूर्व उपमेयर एवम् एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारीको पनि भनाइ पूर्व सांसद राईको जस्तै छ ।

उनी भन्छिन् –‘राष्ट्रिय आवश्यकता पूरा गर्नका लागि अप्रिय लागे पनि पार्टीको निर्णयलाई मानेर जानुपर्ने हुन्छ ।’
एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले सेवाग्राही जनतामाझा जाँदा चुनावी तालमेलको वास्तविकता बारे बुझाउन भण्डारीले निर्देशन समेत दिएकी छन् ।

नेतृ भण्डारीका अनुसार धरानका लागि विकासे योजना माग्न मन्त्रालयहरुमा जाँदा आफूहरुको पहुँच नै पुगेको थिएन । तर अब त्यस्तो अवस्थाको अन्त्य हुने छ ।

उनी थप्छिन् –‘योजना पार्ने तहमा हाम्रो आवाज पुगेको थिएन । अब त्यो पुर्याउन राष्ट्रिय अध्यक्ष नै भैसक्नु भएका अशोक कमरेडले भनेका योजना पक्कै पर्छ भन्ने हामीलाई विश्वास छ । राष्ट्रिय राजनीतिमा पहुँच राख्ने नेता अशोक कमरेड हुनुहुन्छ । त्यसैले धरान विकासको लागि हामीलाई अवसर आएको छ ।’

अघिल्लो चुनावमा कांग्रेससँगको चुनावी तालमेलमा रहेका राई निकटतम प्रतिद्वन्द्वीमा सीमित रहेका थिए । यस पटक भने धेरैले उनको जित निश्चित रहेको अनुमान गरेका छन् ।

सत्ता गठबन्धनबाट भने नेकपा माओवादी केन्द्रका युवा नेता मुक्सामहाङ मेन्याङ्बो चुनावी मैदानमा छन् । कांग्रेस र माओवादी केन्द्रको मत जोड्दा आफूहरु माथि रहेको आँकलनसहित गठबन्धनले पनि मेन्याङ्बोको जित सुनिश्चित रहने दावी गर्दै आएको छ ।

त्यस्तै धरानका पूर्व मेयर मनोजकुमार मेन्याङ्बो पनि एमालेबाट विद्रोह गरेर स्वतन्त्रतर्फबाट उम्मेद्वार बनेका छन् ।

यी बाहेक पनि सुनसरी क्षेत्र नम्बर १ बाट अन्य दल र स्वतन्त्रतर्फका उम्मेद्वारहरु चुनावी स्पर्धामा सहभागी भएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु