आज दमकमा पत्रकार सम्मेलन गर्ने
१ कार्तिक, दमक ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार गृह जिल्ला झापा आउँदैछन् ।
उनलाई नेकपा एमालेले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ भने झापा क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फको उम्मेद्वार बनाएको छ ।
मंसिर ४ को निर्वाचन मिति नजिकिदै गएपछि अध्यक्ष ओली कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार अभियानका लागि झापा आउन लागेको एमाले पोलिटव्युरो सदस्य एवम् झापा निर्वाचन क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले जानकारी दिएका हुन् ।
ओली दिउँसो १ः४५ बजे भद्रपुर विमानस्थलमा अवतरण गर्ने छन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहिसकेका ओलीले आज मंगलबार नै दमकमा पत्रकार सम्मेलन गर्दैछन् । एमाले निकट प्रेस चौतारी झापाको आयोजनामा झापा क्षेत्र नम्बर ५ को प्रत्यक्ष उम्मेद्वारका रूपमा ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
प्रेस चौतारी झापाले सम्प्रेषण गरेको सूचना अनुसार ओलीले दमक ५ को रोयल पार्टी प्यालेसमा दिउँसो ४ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् । यसअघि दमक ५ स्थित थकाली किचनमा गर्ने भनिएको सो कार्यक्रम प्राविधिक कारणले रोयलमा सारिएको चौतारी झापाका अध्यक्ष मनकुमार गदालले जारी गरेको सूचनामा उल्लेख छ ।
पत्रकार सम्मेलनपछि ओलीले नेताहरुसँग निर्वाचनको तयारीका बारेमा छलफल गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
त्यस्तै भोली बुधबार बिहान ११ बजे झापा क्षेत्र नम्बर १ को धुलाबारीमा बृहत् कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले जिल्ला स्रोतको भनाइ छ ।
उनले बुधबार दिउँसो २ बजे दमकको रोयल पार्टी पार्टी प्यालेसमै क्षेत्र नं ५ स्तरीय बृहत् कार्यकर्ता भेटघाट गर्नेछन् भने बिहीबार आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसँग भेटघाट गर्ने कार्यक्रम आयोजना गरिएको एमाले दमकले जनाएको छ ।
त्यसका लागि उनले दमक ३ आमचोक र कलम गाउँपालिकाको केर्खामा मतदाताहरुसँगको भेटघाट गर्नेछन् ।
ओली बिहीबार दिउसो २ः५० बजे भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम छ ।