४ कार्तिक, दमक ।

९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सर्वाधिक पदक जितेको छ ।
गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रियमा आर्मीले सर्वाधिक १ सय ७२ स्वर्णसहित १ सय १० रजत र ८९ कास्य गरी कुल ३७१ पदक जितेर आफूलाई पहिलो टोलीका रूपमा स्थापित गरेको हो ।
दोस्रो स्थान विभागीय अर्को टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्य गरी २ सय १९ पदक हात पारेको छ भने तेस्रो स्थानमा विभागीय टोली नेपाल प्रहरीको नेपाल पुलिस क्लबले ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य गरी कुल १९५ पदक हात पारेको छ ।
प्रतियोगितामा चौंथो स्थान प्राप्त गरेको आयोजक गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य गरी कुल १ सय २० पदक हात पार्यो भने आफूलाई पाँचौ स्थानमा कायम गर्दै बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य गरी कुल १ सय ४५ जित्न सफल भयो ।
छैठौं स्थानमा चित्त बुझाएको प्रदेश एकले १० स्वर्ण, २३ रजत र ५० कास्य गरी कुल ८३ पदक हात पार्यो भने सातौं स्थानमा रहेको सुदूरपश्चिमले १० स्वर्ण, १० रजत र ४३ कास्य गरी कुल ६३ पदक जित्न सफल भयो ।
प्रतियोगितामा आठौं स्थान प्राप्त गरेको एनआरएनए टिमले १० स्वर्ण, ९ रजत र ७ कास्य गरी कुल २६ पदक प्राप्त गर्न सफल भयो भने लुम्बिनी प्रदेशले ६ स्वर्ण, २२ रजत र ४० कास्य गरी कुल ६८ पदक जित्दै नवौं स्थानमा कायम रह्यो ।
दशौं स्थानको मधेश प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य गरी कुल ३९ पदक हात पार्यो भने प्रतियोगिताको अन्तिम स्थानमा रहँदै कर्णाली प्रदेशले २ स्वर्ण, ४ रजत र १२ कास्य गरी कुल १८ पदकमा चित्त बुझायो ।
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भएको समापन समारोहमा कर्णाली प्रदेशमा २०८१ मा हुने १० औँ राष्ट्रिय खेलकुदको झन्डा हस्तान्तरण गरिएको छ ।
गण्डकी प्रदेशमा भएको ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि ३६ खेलमा प्रतिस्पर्धा गरेका थिए ।

