adv

निर्वाचन अब एक महिना बाँकी

दलहरु धमाधम चुनाव प्रचारमा, निर्वाचनको सरगर्मी बढ्दै

हरप्रहर विश्लेषण
४ कार्तिक, दमक ।


मंसिर ४ गतेलाई तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन आउन अब ठीक १ महिना बाँकी छ । यसबीचमा चुनावी प्रतिस्पर्धामा उत्रिएका गठबन्धन दलसहित प्रतिपक्षी एमाले, जसपा, राप्रपालगायत दलहरु निर्वाचन प्रचारका कार्यमा व्यस्त देखिएका छन् ।

निर्वाचन घोषणा भएसँगै बीचको समयमा विभिन्न चाडपर्व परेकाले दलहरु चाडवाडकै बहानामा शुभकामना आदान–प्रदानलाई विषय बनाएरै पनि कार्यकर्ता र मतदाता भेट्नमा व्यस्त देखिन्छन् । चौतर्फी बढिरहेको चुनावी सरगर्मीका बीच जति ठूला भनिएका दलहरुको चर्चा हुने गरेको छ, साना भनिएका दल र स्वातन्त्रतर्फका उम्मेद्वारले पनि चुनावलाई उसैगरी उपयोग गर्ने दाउमा छन् ।

ठूला दलहरु राष्ट्रिय एजेण्डा र विकास, समृद्धिको नारा लिएर जनतामाझ गइरहेका छन् भने साना दल पहिचान, अधिकारसँगै विकासका नाउँमा बिगतमा भएका भ्रष्टाचार, अनियमितताका विषयलाई मुद्दा बनाउन उद्दत छन् । यता स्वतन्त्र उम्मेद्वारहरु भने देशमा उत्पन्न सबै समस्या दल र दलका बुढा नेताहरुको असक्षमता र अकर्मण्यताको उपज हो भन्ने आरोपसहित दलीय सत्ताबाट वाक्कदिक्क भएका मतदाताहरुको ध्यान आफूतर्फ आकर्षित गर्ने योजनामा छन् ।

यसैबीच सत्ता गठबन्धनले आज शुक्रबारदेखि गण्डकी र लुम्बिनी प्रदेशबाट एकै पटक संयुक्त नेता–कार्यकर्ता भेलाको आयोजना गरेर अभियानको थालनी गर्दैछ ।

सातवटै प्रदेशमा नेता–कार्यकर्ता भेला गर्ने निर्णय गरेको सत्ता गठबन्धनले आजबाट चुनावलक्षित प्रदेश स्तरीय संयुक्त कार्यकर्ता भेला थाल्ने भएको हो ।

यस्तै गठबन्धनको सामना गर्न जसपा र राप्रपासहितका दलसँग विभिन्न स्थानमा चुनावी तालमेल गरेर निर्वाचनमा होमिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नै आम नागरिकसँग टेलिफोनमा कुरा गर्ने कार्यक्रम छ ।

अध्यक्ष ओलीसँग टेलिफोनमा कुरा गर्न १ लाख ७१ हजार भन्दा धेरै जनाले नाम टिपाएको एमालेले जनाएको छ । एमाले एक्लै प्रत्यक्षतर्फ १ सय र समानुपातिकमा ५० सिट जित्ने उद्घोषका साथ ‘मिसन १५०’ मा जुटेको हो ।

ओलीले मंगलबार आफ्नो सामाजिक सञ्जालमा कुराकानीका लागि सम्पर्क नम्बर पठाउन अनुरोध गरेका थिए । प्राप्त नम्बरका आधारमा उनले आम मतदातासँग कुराकानी गर्ने एमालेको भनाइ छ ।

गठबन्धनको तर्फबाट भने नेकपा (एकीकृत समाजवादी)को समन्वयमा आज गण्डकी प्रदेशको पोखरामा र नेपाली कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा नेता–कार्यकर्ता भेला हुँदैछ । भेलालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

त्यस्तै भोलि शनिबार कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा, पसी ६ गते आइतबार नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढी र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा भेला आयोजना हुने गठबन्धनले जनाएको छ । गठबन्धनले आफ्नो अन्तिम भेला ७ गते सोमबार माओवादीको समन्वयमा काठमाडौमा सम्पन्न गर्ने तयारी गरेको छ ।

त्यस्तै सत्ता गठबन्धन छोडेर एमालेसँग केही स्थानमा तालमेल र बाँकीमा आफ्नै दलका उम्मेद्वारसहित निर्वाचनको तयारी गरिरहेको जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले पनि मधेस प्रदेशका विभिन्न स्थान र पहाडी क्षेत्रहरुमा पनि व्यापक चुनावी तयारीका कार्यक्रम गरिरहेको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष अशोक राई, रकम चेम्जोङलगायत नेताहरु दैनिक निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त रहेको पार्टी स्रोत बताउँछ ।

जसपाका नेताहरुले चुनावी कार्यक्रमलाई तिव्रता दिएर अघि बढेको पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य एवम् प्रचार विभाग प्रमुख पूर्णबहादुुर थापाले जानकारी दिए ।

एमालेसँग झापासहित तीन जिल्लामा चुनावी तालमेल गरेको राप्रपाले पनि आफ्नो चुनावी अभियानलाई गति दिएको छ । बिहीबार झापामा मात्रै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले जिल्लाका विभिन्न क्षेत्रमा चुनावी अभियानसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेका हुन् ।

दल र दलका उम्मेद्वार बाहेक स्वतन्त्रतर्फका उम्मेद्वारहरुले पनि चुनावी अभियानलाई भौतिक र सामाजिक सञ्जालहरुमार्फत व्यापकता दिएको देखिन्छ ।

निर्वाचन आयोगले दलहरु र निर्वाचनमा उम्मेद्वार बनेका स्वतन्त्रतर्फका उम्मेद्वारहरुलाई कार्तिक १८ गते भन्दा अघि चुनाव प्रचार नगर्न भनेको छ । तर, आयोगको यो निर्देशन पालना भएको देखिँदैन ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु