६ कार्तिक, राजविराज ।

मधेस जनविद्रोहले नै मधेसी, महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, अल्पसंख्यकलगायत उत्पीडित समुदायहरुको आरक्षण सुनिश्चित गराउन सफल भएको जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले दावी गरेका छन् ।
शनिबार सप्तरीको राजविराजमा भएका अलग अलग कार्यक्रमहरुमा अध्यक्ष यादवले यस्तो दावी गरेका हुन् ।
यादवले शनिबार ब्यापारी व्यवसायी, मदरसामा मुस्लिम समुदायका अगुवा, देउरी भरुवा कार्यकर्ता भेला सहितका कार्यक्रमहरुलाई सम्बोधन गर्ने क्रममा भने –‘मधेस र मधेसी जनता अहिले पनि अधिकारबाट वञ्चित छन् । सामाजिक न्याय र आत्मसम्मानको लडाइँ लड्न बाँकी नै छ ।’
शोषित, उत्पीडित एवम् विभेदमा पारिएका जनताको हक अधिकार स्थापित गराउन मधेसी जनअधिकार फोरम नेपालले विगुल फुकेको बताउँदै यादवले भने –‘मधेसी जनतालाई अधिकार दिने पक्षमा कांग्रेस र कम्युनिष्टले चाहेका थिएनन्, जनविद्रोहको बलमा मात्रै उत्पीडित समुदायको आरक्षणको सुनिश्चितता भएको हो, र थप अधिकार प्राप्तिका लागि अझैं सङ्घर्ष जारी छ ।’
जनआन्दोलन पश्चात् अन्तरिम संविधान जारी भएको संविधानमा मधेसी, आदिवासी, जनजाति, दलित, महिला, पिछडावर्ग, थारुलगायत विभेद्मा पारिएका जाति एवम् समुदायको अधिकार सुनिश्चित नगरिएपछि संविधान जलाएर क्रान्तिको विगुल फुक्ने पार्टी तत्कालीन मधेशी जनअधिकार फोरम नै हालको जनता समाजवादी पार्टी भएको उनले स्मरण गराए ।
मधेस आन्दोलनकै कारण नेपालमा मधेसी समुदाय रहेको कुरा संसारले चिनेको बताउँदै सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वारसमेत रहेका जसपा अध्यक्ष यादवले भने –‘देशमा गणतन्त्र, संघीयता, समावेशीता र आरक्षणको अधिकार दिलाउने पार्टी जसपा नै हो, संघीयतालाई स्थापित गराउन अझैं बाँकी रहेकोले जसपा आफ्नो मुद्दाबाट रत्तिभर विचलित नभई संघर्ष जारी राख्छ ।’
जनसंख्याको आधारमा मधेसीलाई भागिदारी चाहिएको बताउँदै उनलेले मधेसमा मधेसीको, लिम्बुवानमा लिम्बूको, किरातको भूमीमा किरातीको, तमुवानमा तमुको, ताम्सालिङमा तामाङको र हिमालमा शेर्पाको अधिकार र केन्द्रमा सबैको साझेदारी स्थापित हुनुपर्ने र यसका लागि संविधान संशोधन आवश्यक रहेको बताए ।
मधेसबाट गरिबी, बेरोजगारीलगायतका समस्याहरु समाधान गर्न आर्थिक विकास आवश्यक रहेको चर्चा गर्दै यादवले भने –‘त्यही सोचका साथ मैले रोल मोडेलको रूपमा सप्तरीमा स्वास्थ्य, शिक्षा, सडक, कृषिलगायतका क्षेत्रमा कामहरु अगाडि बढाएको छु ।’
कार्यक्रममा पार्टीका नेता समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, पार्टीका केन्द्रीय प्रवक्ता मनिष सुमन, नेता विकास कुमार तिवारी, नेत्रविक्रम साह, किरण साहलगायतले बोलेका थिए ।

