adv

४० हजार मतान्तरले चुनाव जित्दैछौं : एमाले झापा ५ निर्वाचन संयोजक दाहाल

७ कार्तिक, दमक ।

नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ का निर्वाचन परिचालन कमिटी संयोजक देबेन्द्र दाहाल ।

चुनावी सरगर्मी बढेको अवस्थामा झापा क्षेत्र नम्बर ५ विशेष चर्चा र चासोको विषय बनेको छ । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यसै क्षेत्रबाट पटक पटक निर्वाचन लड्दै आउनु भएकोले पनि झापा क्षेत्र नम्बर ५ मा आम जनताको चासो बढेको छ । भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै एमालेले अध्यक्ष ओलीलाई यसै क्षेत्रबाट निर्वाचन लडाइरहेको अवस्था छ । यसैबीच हरप्रहर न्यूजका लागि सम्पादक कमन देवानले झापा निर्वाचन क्षेत्र नम्बर ५ का निर्वाचन परिचालन कमिटीका संयोजक, एमाले पोलिटव्यूरो सदस्य एवम् राष्ट्रिय सभातर्फ एमाले संसदीय दलका प्रमुख सचेतक देबेन्द्र दाहालसँग चुनाव प्रचार प्रसार बारे गरेको चुनावी वहस प्रस्तुत छ :

झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेको तर्फबाट निर्वाचन परिचालनको नेतृत्व गर्दै हुनुहुन्छ । यस क्षेत्रमा एमालेको माहोल र सम्भावना कस्तो देख्नुभएको छ ?

हामी निर्वाचन प्रचारको प्रारम्भिक चरणमा र निर्वाचनको व्यवस्थापकीय पक्षमा नै छौं । प्रचारका धेरै कार्यक्रम छैनन् । जनता र कार्यकर्तासँग आन्तरिक भेटघाटमै छौं । अध्यक्ष केपी शर्मा ओलीलाई ल्याएर बृहत् कार्यकर्ता भेला गर्यौं । उहाँले त्यस भेलामा आफ्ना विषयवस्तु राख्नु भएको छ । अहिले हामीले देश विकास र समृद्धिको लागि एमालेले थालेका कामहरुको निरन्तरताका लागि जनतासँग मत मागिरहेका छौं । राष्ट्रियताको संरक्षण र सम्बद्र्धनका कामहरु थाँती रहेका छन् । सबैको सहमति जुटाएर चुचे नक्सा जारी गरे पनि भूमि प्राप्ति भएको छैन, त्यो प्राप्त गर्न एमालेकै सरकार चाहिन्छ भन्ने जनतालाई बुझाइरहेका छौं । किनभने १४÷१५ महिना परमादेशी गठबन्धन सरकार पनि चल्यो, तर भूमि बारे चुँ सम्म बोल्न सकेन । त्यस्तै रोजगारीका कुरा छन्, किसानको जीवनस्तर माथि उठाउने विषय छन्, यी सबै विषयलाई लिएर जनतामाझ जाँदा राम्रै प्रतिक्रिया पाएका छौं ।

दमकमा अगुवा कार्यकर्तामाझ अध्यक्ष ओलीले ‘मिसन १५०’ घोषणा गर्नुभएको छ । के यो आफ्नो पक्षमा माहोल बनाउने प्रोपोगाण्डा हो ? कत्तिको साकार होला ?

यो साकार हुन्छ, किनभने जनता कसैका पेवा छैनन् । कसैले गठबन्धन गर्दैमा जनताले भोट हाल्ने होइनन् । उनीहरुको आश के भने, हिजो कांग्रेसलाई मत हालिरहेका, माओवादीलाई मत हालिरहेका, भर्खरै एमालेबाट चोइटिएर गएका माधव नेपालहरुलाई जनताले भोट हाल्लान् भनेर जुन गठबन्धन गरेका छन्, तर त्यस्तो हुँदैन । हामीलाई विश्वास छ, एजेण्डाका आधारमा जनताले मतदान गर्ने हो । कसले हामीलाई समृद्धि दिन्छ र देशलाई विकास दिन्छ भन्ने कुरा जनताले हेर्ने हो । यसबीचमा जनताले पछिल्लो साढे तीन वर्ष र अघिल्लो ९ महिनामा एमाले सरकारले गरेको काम हेरेका छन् । त्यस्तै १४/१५ महिनामा यो सरकारको काम पनि त हेरे नि जनताले । त्यसले गर्दा जनतलाई मूल्याङ्कन गर्न सजिलो छ । मतदान गर्ने सन्दर्भमा हामीलाई विश्वास छ कि गठबन्धन बनेको सुरुसुरुकै अवस्थामा स्थानीय तह निर्वाचन सम्पन्न भयो । एमाले आफूले सोचे जस्तो मत त आएन, तर गठबन्धनले सोचे भन्दा एमालेको मत धेरै आयो । त्यसैले हामीले भनेको ‘मिसन १५०’ चुनावी फण्डाका लागि वा माहोल सिर्जना गर्नका लागि मात्रै होइन । मिसन १५० भनेको यथार्थ कुरा हो । किनभने हामीले केही दलहरुसँग तालमेल गरे पनि १४० बढी त उम्मेद्वार उठाएका छौं । प्रत्यक्षतर्फ ८०/९० सिट जित्यौं भने समानुपातिकबाट त्यसलाई रिकभर गर्न सकिन्छ । त्यसैले मिसन १५० मा हामीलाई विश्वास छ । जब कि कांग्रेस, माओवादी वा अरु पार्टीले उम्मेद्वार नै ८० भन्दा माथि उठाउनै सकेका छैनन् । एमालेबाहेकका दलहरुसँग त बहुमतको सरकार बनाउँछौं भन्ने आधारै छैन । आधार हामीसँग छ, किन भने हामीले जसपा र राप्रपासहित तालमेल गरेर चुनाव लड्दा राष्ट्रियता र विकासका लागि जनताले मत दिन्छन् नै भन्ने विश्वास हामीलाई छ ।

गठबन्धनका उम्मे्दवारहरुबाट एमालेले कतिको खतरा महसुस गरेको छ ? निर्वाचनमा मतान्तर कस्तो रहला ?

गठबन्धनका तीनै जना उम्मेद्वार हामीले हेर्यौं । प्रतिनिधि सभामा त केपी ओलीसँग तुलना गर्न लायक उम्मेद्वार नै हुनुहुन्न । प्रद्यापन सेवामा काम गरिरहुनु भएका, उहाँ (खेगेन्द्र अधिकारी) धेरै लो प्रोफाइलबाट हुनुहुन्छ । पहिले पनि आएर चुनाव उठ्नुभो र धेरै ठूलो मतान्तरले पराजित हुनु भो । यसपटक त हामीले धेरै काम गरेका छौं, यसै क्षेत्रमा पनि धेरै काम गरेर जनतालाई देखाएका छौं । बाटाघाटा, पुलपुलेसा, औद्योगिक पार्कको सुरुवाती, मदन भण्डारी रङ्गशालादेखि लिएर बिजनेश कम्प्लेक्स (मान्छेले त्यसलाई अहिले भ्यू टावर, भ्यू टावर भन्छन्, तर त्यो टुप्पोमा चढेर हेर्ने मात्रै होइन, विशाल कम्प्लेक्स हो), हामीले यस्ता धेरै काम गरेका छौं । त्यसैले जनताको मत एमालेलाई बढेर आउँछ । हिजो २८/२९ हजार मतको फरक थियो भने अहिले हामी ३५/४० हजारको अन्तरले चुनाव जित्छौं । प्रदेश सभाको हकमा हामीले हिजो ५ (२) मा २० हजार भन्दा बढी मतान्तरले चुनाव जितेका हौं भने प्रदेश ५ (१) मा पनि ५/६ हजार मतान्तरले चुनाव जितेका हौं । हामीले गरेका यी सबै कामका कारण जनता एमालेप्रति आकर्षित भएका हुँदा त्यो मत पनि बढ्छ, खतरा भन्ने त छँदैछैन । हाम्रो मत बढेर आउँछ र मतान्तर पनि हामी बढाएर ल्याउने स्थितिमा छौं ।

एमालेबाट प्रदेश सभा ५ (१) का उम्मेद्वार हिक्मत कार्कीले चुनावी अभियानका क्रममा कमल ५ मा अलपत्र परेको आदिवासी रङ्गशाला बनाउँछु भन्दै आउनु भएको छ । बिगतको तितो पक्ष त आदिवासी रङ्गशाला त एमाले र ओलीकै कारण नबनेको भन्ने आरोप छ । एमालेको घोषणापत्र र प्रतिबद्धतापत्रमा यो विषय पर्ला त ?

पहिलो कुरा त म यो विषयलाई सच्याऔं कि यो रङ्गशाला एमालेका कारण नबनेको होइन । यो त यस क्षेत्रका राजनीतिक दलहरुका कारण नबनेको हो । त्यसलाई साथीहरुले राजनीतिक इस्यु बनाउनु भयो । केन्द्रीय कार्यक्रमअन्तर्गत सुशिल कोइराला प्रधानमन्त्री हुनुहुँदा आएको योजना हो ‘मदन भण्डारी रङ्गशाला’ । कहाँ बनाउने भन्दा स्थानको हकमा त्यहि ठाउँमा (आदिवासी रङ्गशालाकै स्थानमा) बनाउने भन्ने सहमति भयो, निर्णय भएको भने होइन । त्यहिँ बनाऔं भन्ने कुराहरु भइरहँदा पछि उहाँहरुले विवाद झिक्नु भो । हामीले के भन्यौं भने त्यहाँका आदिवासी जनजातिहरुको समाधि, समाधिमा भएका चिजहरु, समाधिहरु भत्काउने जुन काम भएको थियो, उहाँहरुको पनि आत्मसम्मानको लागि त काम गर्नुपर्यो नि भनेर हामीले आदिवासी जनजाति स्मृति पार्क बनाउने र त्यो नेपालको मात्रै होइन, संसारकै नमूना बनाउने भनेर प्रस्ताव गर्यौं । त्यो प्रस्तावमा उहाँहरु मानिसक्नु भएको थियो (मसँग त्यसको डकुमेन्ट पनि छ) । पछि खासगरी नेपाली कांग्रेसका मानिसहरुले विवाद झिक्नु भो । अब आदिवासी रङ्गशाला नै बन्नु पर्छ भनेर फेरि रङ्गशालातिर नै उहाँहरु फर्केर आउनु भो । रङ्गशाला बनाउने नै भन्ने थियो । तर, त्यो ठाउँमा चाहिँ आदिवासी जनजातिहरुको स्तम्भ जस्तो बनाउने, त्यसमा एउटा पार्क बनाउने, त्यो पार्क चाहिँ सामान्य पार्क मात्रै होइन, अरबौं लगानी गरेर ठूलो पार्क बनाउने भनेर ल्याएको कुरालाई उहाँहरुले मान्नु भएन । नमानिसकेपछि तत्कालीन प्रधानमन्त्री (केपी ओली) ले विवादका बीचमा यो बनाउँदिन म भनेर भन्नु भएको साँचो कुरा हो । तर यो रङ्गशाला नबनाउने भन्ने कुरा होइन । त्यतिबेला मदन भण्डारी रङ्गशाला बनाउनु नै पर्ने थियो, पहिले नै कार्यक्रम स्वीकृत भइसकेको थियो । भूमिमा विवाद भइसकेपछि दमकमा बनाउने भन्ने कुरा भयो । ठाउँको सवालमा दूधेको माथिल्लो पटी कम्पाउण्ड लगाएको खाली ठाउँ छ, त्यहाँ बनाउने कि भन्ने कुरा चल्यो । बिर्तामोडको डोमालाल रङ्गशालामा बनाउने कि, चन्द्रगढीमा ठूलो ५५ बिगाहा भन्दा बढी जमिन छ, त्यहाँ बनाउने कि भन्ने चर्चा चलेको थियो । पछि चर्चा परिचर्चाका बीचमा यहाँ दमकमा बनाउने भन्ने कुरा भयो । त्यहाँको रङ्गशाला यहाँ सरेको पनि होइन । त्यो रङ्गशाला हामीले बनाउँछौं भनेका छौं । बनाउने प्रतिबद्धता व्यक्त गरेका छौं । जहाँसम्म यहाँले पार्टीको आधिकारिक धारणा आएन, प्रतिबद्धतापत्रमा आएन भन्नु भो, त्यो आउँदैछ । हाम्रो केन्द्रीय घोषणापत्र कार्तिक १५ गते जारी हुँदैछ, यहाँको स्थानीय प्रतिबद्धतापत्र पनि जारी गर्दैछौं । ती दस्तावेजहरुमा यसलाई समेटेर ल्याउँछौं ।

युवा पुस्ताले पुराना राजनीतिक दलहरुप्रति असन्तुष्टि जनाएका छन् । युवा पुस्ताले नेतृत्व गरेका नयाँ दल र स्वतन्त्रतर्फ उनीहरुको आकर्षण बढेको देखिन्छ । धेरै जना युवाहरुको उम्मेद्वारी पनि परेको छ । यसलाई एमालेले कसरी हेरेको छ ? युवाका मुद्दा एमालेले कसरी समेट्छ ?

हामीले आह्वान गरेका छौं, पहिलो मत खेर नफाल्नुस् । जो पहिलो पटक उमेर पुगेर मतदान गर्दैहुनुहुन्छ, पहिलो मत समृद्धिको लागि दिनुस् भनेका छौं । मत मात्रै मागेका छैनौं, हामीले युवाहरुका लागि पनि काम गर्छौं । युवाहरु रोजगारी नपाएर विदेश जानुपर्ने वाध्यात्मक परिस्थिति छ । त्यसलाई अन्त्य गर्न उद्योगधन्दा स्थापना गर्ने भनेका छौं । यस क्षेत्रमा औद्योगिक पार्कको जुन कुरा छ, यहाँ दशौं हजार युवाले रोजगारी पाउनेवाला छन्, दोस्रो कुरा हामीले यहाँ ‘भ्यू टावर’ भनिएको छ नि त्यो भ्यू टावरमा पनि २÷४ हजारले रोजगारी पाउनेवाला छन् । अप्रत्यक्ष अरुले पनि रोजगारी पाउने अवस्था हुन्छ । त्यसैले हामीले युवाहरुलाई अब एमालेको सरकार बनाउन मद्दत गर्नुस् भनेका छौं । हामी युवाको लागि रोजगारी सिर्जना गर्ने र स्वरोजगार बनाउने कार्यक्रमहरु ल्याउँछौं । कृषिमा आधुनिकीकरण गर्ने कार्यक्रमहरु ल्याउँछौं । आफ्नो देशमा कृषि गर्न छोडेर युवाहरु विदेश गएर कृषिमा काम गरिरहेका छन् । विदेशमा जस्तै नेपालमै राम्रो पारिश्रमिक पाउनेगरी कृषि क्षेत्रको सुधारका कार्यक्रम ल्याइरहेका छौं ।

अन्त्यमा तपाईका केही भनाइ ?

अन्तिममा म सबै मतदाता दाजुभाइ दिदीबहिनीहरुलाई आह्वान गर्न चाहन्छु । देश आज जर्जर अवस्थामा छ । भ्रष्टाचार व्याप्त छ, बेरोजगारी बढेको छ । विभिन्न विकास निर्माणका काम ठप्प छन् । यी सबै कुरालाई व्यवस्थित ढङ्गले अघि बढाउन एमालेलाई, एमालेको सूर्य चिन्हलाई मतदान गरेर हामीले एमालेलाई जितायौं भने यी सबै कुराको सम्बोधन गर्नेछौं ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु