adv

कार्तिक १७ देखि मंसिर १ सम्म चुनाव प्रचार प्रसार : निर्वाचन आयोग

१४ कार्तिक, दमक ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले दल र स्वतन्त्रतर्फका उम्मेद्वारहरुलाई चुनाव प्रचारको लागि कार्तिक १७ देखि मंसिर १ सम्मको समय सीमा तोकिदिएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।

संहिताको दफ १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको आयोगले जनाएको छ ।

आचार संहिता प्रभावकारी कार्यन्वयन भए/नभएको सम्बन्धमा निर्वाचन आयोग र जिल्ला आचारसंहिता अनुगमन समितिबाट भएको अनुगमन, उल्लघंनका घटनाबारे प्राप्त उजुरी तथा जानकारीका आधारमा स्पष्टीकरण सोध्ने र जवाफ आउने क्रम जारी रहेको आयोगको भनाइ छ ।

आचारसंहिताको प्रतिकूल हुने गरी कुनै पनि गतिविधि नगर्न आयोगले राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षसँग आग्रहसमेत गर्दै आएको छ ।

आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ प्रावधान छ ।

दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा दलको झण्डा प्रयोग गर्न सकिने, कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने प्रावधानहरू आचारसंहितामा रहेको व्यहोरासमेत स्मरण गर्न निर्वाचन सम्बद्ध पक्षहरूमा आयोगले अनुरोध गरेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु