१५ कर्तिक, दमक ।

प्रतिपक्षी दल नेकपा एमालेले जारी गरेको चुनावी घोषणापत्रमा देश र जनताका लागि सुशासन,विकास, समृद्धि र समानतालाई संकल्पकका रूपमा अघि सारिएको छ ।
यस पटकको घोषणापत्रमा पनि एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई राष्ट्रिय आकांक्षा हो भनी निरन्तरता दिएको छ । ओली प्रधानमन्त्री भएको बेला सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा तय गरेको थियो । यसैलाई एमालेले पुनः निरन्तरता दिएको हो ।
एमालेले भारतसँग कायम रहेको सीमा विवादलाई चुनावी मसला बनाएको छ । घोषणापत्रमा भारतले उपभोग गरिरहेको लिपुलेक, कालापानी र लिम्पियाधुराको भूमि फिर्ता ल्याउनेदेखि नागरिकता समस्या ६ महिनाभित्र समाधान गरिने प्रतिवद्धता गरिएको छ ।
मंगलबार एमाले अध्यक्ष ओलीले डिजिटल प्रविधिबाट पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
यस्तै एमालेले महिलाहरुलाई सेनिटेरी प्याडका लागि वार्षिक १ हजार ५ सय उपलब्ध गराउनेदेखि वृद्धभत्तालगायत सामाजिक सुरक्षाअन्तर्गतका भत्ता वृद्धिलाई पनि चुनावी मसला बनाएको छ । एमालेले घोषणा पत्रमा श्रमिकहरूको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने प्रतिबद्धता जनाएको छ।
५० युनिट बिजुली र १० हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने लोकप्रिय नारा समावेश गरेको एमालेले आफ्नो घोषणापत्रमा अब घरघरमा ग्यास होइन, बिजुली पुर्याउने उल्लेख गरेको छ ।
अध्यक्ष ओली प्रधानमन्त्री भएको समयमा दुई दुई पटक प्रतिनिधि सभा (संसद्) भङ्ग गर्ने असफल प्रयास गरेको एमालेले बाध्यात्मक परिस्थितिको उपज भन्दै सो असंवैधानिक कदमको बचाउ गरेको छ ।
बहुमत प्राप्त भएर एमालेको सरकार बने ५ वर्षभित्र विभिन्न २० वटा विषय ग्यारेन्टी गरिने घोषणापत्रमा उल्लेख छ ।
के के हुन् एमालेका २० ग्यारेन्टी ?
१. समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने
२. राष्ट्रहित र नागरिक हितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने
३. ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को नीति कार्यान्वयन गर्ने
४. स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने
५. आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने
६. सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने
७. ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’ को नीति कार्यान्वयन गर्ने
८. ‘निरोगी नेपाल, सबल नागरिक’ नीति अघि बढाउने
९. सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निशुल्क
१०. वर्षायाममा मासिक ५० युनिट र हिउँदमा ३० युनिट विद्युत निशुल्क
११. ‘खेतबारीमा पानी, दोब्बर हुन्छ उब्जनी’ को मान्यता अघि बढाउने
१२. सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने
१३. ‘व्यवस्थित सहर : स्वच्छ र हरियाली बस्ती’ को अवधारणा कार्यान्वयन गर्ने
१४. सरल, सहज सार्वजनिक सेवा’ को प्रबन्ध गर्ने
१५. सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने
१६. सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने
१७. ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने
१८. सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने
१९. ‘सभ्य समाज : मर्यादित नागरिक’ को नीति कार्यान्वयन गर्ने
२०. प्रतिव्यक्ति आय दोब्बर गर्ने

