adv

निर्वाध चुनाव प्रचारप्रसारको वातावरण बनाउन आयोगको ध्यानाकर्षण

२७ कार्तिक, दमक ।


आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेद्वारहरुलाई निर्वाधरूपमा प्रचारप्रसार गर्न÷गराउन निर्वाचन आयोगले सम्बन्धित पक्षलाई पुनः ध्यानाकर्षण गराएको छ ।

आयोगले आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई कार्तिक २२ गते गृह मन्त्रालयमार्फत राजनीतिक दल तथा उम्मेद्वारहरुलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न÷गराउन निर्देशन दिएको थियो ।

त्यस्तै, आयोगले निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक र आम मतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्नसमेत निर्देशन दिएको थियो ।

चितवनलगायत विभिन्न जिल्लामा उम्मेद्वारले निर्वाधरूपले प्रचारप्रसार गर्ने कार्यमा अवरोध तथा निर्वाचनमा सहभागी पक्षहरूबीच विवाद भई सवारी साधन तोडफोड भएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित समाचार तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका विषयप्रति आइतबार प्रेस विज्ञप्ति जारी गरी आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जारी गरेको विज्ञप्तिमा निर्वाचनमा उम्मेद्वार भएका हरेक व्यक्तिलाई प्रतिस्पर्धाको समान अवसर प्राप्त हुने भन्दै सबै राजनीतिक दल र सबै उम्मेद्वारहरुलाई निर्वाधरूपमा प्रचारप्रसार गर्ने वातावरण सिर्जना गर्न गृह मन्त्रालयलाई पुनः निर्देशनसहित ध्यानाकर्षण गराइएको छ ।

नेपालको संविधानको प्रस्तावनामा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन र कानूनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्यमान्यताप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को खण्ड (ख) बमोजिम स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला नगर्न भनेको छ ।

सोही दफाको खण्ड (च) बमोजिम एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा भातृ संगठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला नगर्न र स्थानीय प्रशासनले त्यस्तो कार्यक्रम गर्ने स्थल वा मार्ग परिवर्तन गर्न दिएको निर्देशन पालना गरी आपसी विवाद वा द्वन्द्वको अवस्था सृजना नगर्न पनि आयोगले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु