adv

गुरू दर्शनमा माङसेबुङ पुगे जसपा नेता चेम्जोङसहितका उम्मेद्वारहरु

२७ कार्तिक, दमक ।


जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेताहरुले आइतबार किरात धर्मगुरू आत्मानन्द लिङ्देनसँग दर्शनभेट गरेका छन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा जसपाका प्रभावशाली नेता रकम चेम्जोङसहितका नेताहरु गुरू दर्शनका लागि माङसेबुङस्थित आश्रम पुगेका हुन् ।

पूर्व मन्त्रीसमेत रहिसकेका चेम्जोङ यस पटक धनकुटाको प्रदेश सभा (१) बाट उम्मेद्वार छन् । उनीसहित जसपाबाट इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार यामप्रसाद योङहाङ, इलाम क्षेत्र नम्बर २ को प्रदेश सभा (२) का उम्मेद्वार बलबहादुर आङदेम्बेलगायतका नेता कार्यकर्ताहरु किरात धर्मगुरुसँग दर्शनभेट र आशीर्वाद लिन आश्रम पुगेका थिए ।

भेटका क्रममा किरात धर्मगुरू लिङ्देनले भाषा, लिपि र अस्तित्वको लागि विशेष पहल गर्न र यसका लागि निरन्तर लाग्न आग्रह गरेका थिए ।

चेम्जोङलगायत जसपाका नेताहरुले पनि प्रदेश नामाकरण, स्वायत्रत क्षेत्र, विशेष र संरक्षित क्षेत्र स्थापना र भाषा आयोगले सिफारिस गरेको लिम्बू र मैथिली भाषालाई प्रदेशस्तरीय सरकारी कामकाजी भाषा बनाउने विषयमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका जसपा माङसेबुङ अध्यक्ष किसान खजुमले जानकारी दिए ।

निर्वाचनमा उम्मेद्वार बनेका विभिन्न राजनीतिक दलका नेताहरु निजी गुरु आश्रम इलामको माङसेबुङ ५, लारुम्बा पुग्ने र गुरूसमक्ष आशीर्वाद लिने र आफ्नो प्रतिबद्धता जाहेर गर्ने कार्यक्रम हुँदै आएको छ ।

आश्रम स्रोतका अनुसार यसरी निर्वाचन नजिकिएसँगै गुरु दर्शन गरी आशीर्वाद माग्न आउनेहरुमा नेकपा एमाले संसदीय दलका उप नेता एवम् इलाम क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेद्वार सुवासचन्द्र नेम्बाङ, बाम लोकतान्त्रिक गठबन्धनबाट यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य उम्मेद्वार डम्बर खड्का, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा उम्मेद्वार केपी पालुङ्वा र प्रतिनिधि सभाकी स्वतन्त्र उम्मेदवार जुनुकुमारी माखिम छन् ।

त्यस्तै पाँचथरको प्रदेश सभा (२) का गठबन्धन उम्मेद्वार एवम् प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, झापा ५ प्रदेश सभा (२) का गठबन्धन उम्मेद्वार रेवतराज पुरी (गगन), इलाम क्षेत्र नम्बर २ प्रदेश सभा (२) का गठबन्धन उम्मेदवार हर्कबहादुर लावती ‘कान्छा’, एमाले उम्मेद्वार राम राना मगर, इलाम २ प्रदेश सभा (२) का स्वतन्त्र उम्मेदवार बिक्रम फागोलगायत उम्मेद्वारहरुले किरात धर्मगुरू लिङ्देनसँग भेट गरी आशीर्वाद लिइसकेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु