२८ कार्तिक, दमक ।

निर्वाचन सम्पन्न गर्न सहजताका लागि भन्दै निर्वाचन आयोगले ३ दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ ।
प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ सम्पन्न गर्न सहजताका लागि भन्दै आयोगले मंसिर २, ४ र ५ गते सार्वजनिक विदाको सिफारिस गरेको हो । ३ गते शनिबार परेको छ ।
शनिबार बाहेकका ३ दिन सम्पूर्ण सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा दिनुपर्ने प्रस्ताव आयोगको छ ।
मतदान हुने ठाउँ अधिकांश विद्यालय नै हुने भएकाले मतदान केन्द्रको पूर्वतयारीका लागि २ दिन समय लाग्ने आयोगको भनाइ छ ।
त्यस्तै सरकारी कर्मचारी, शिक्षकहरु पनि निर्वाचनमा नै खटिइजानु पर्ने र टाढाका मतदाताले पनि तीन दिन बिदा पाए आफ्नो मतदानस्थलसम्म पुग्ने र मतदान गरी फर्कने पर्याप्त समय पाउने आयोगको ठहर छ ।
आयोगले बिदासम्बन्धी निर्णय गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको छ । तर, निर्वाचनमा कति दिन बिदा दिनेबारे अहिलेसम्म निर्णय भइनसकेको गृहमन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलको भनाइ छ ।
सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्बाट मात्रै हुन्छ ।
गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले मतदानको दिन मात्र बिदा दिएको थियो ।
त्रिभुवन विश्वविद्यालयले भने १ देखि ५ मंसिरसम्म निर्वाचनका लागि बिदा दिने निर्णय गरिसकेको छ ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता मतदान गर्न योग्य हुने निर्वाचन आयोगले जनाएको छ ।
जसमा महिला मतदाता संख्या ८८ लाख ४७ हजार ५ सय ७९ रहने छ भने पुरुष मतदाताको संख्या ९१ लाख ४० हजार ८ सय ६ पुग्ने आयोगले स्पष्ट पारेको छ । त्यस्तै १ सय ८५ जना अन्य लिङ्गका मतदाता मतदानका लागि योग्य हुने आयोगको भनाइ छ ।

